सुर्खेत ।। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दलमा नेकपा एमाले फेरि विभाजन हुने दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले समाजवादी मोर्चाद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै एमालेमा ठूलो धाँजा परिसकेको तर्क गर्नुभयो । ‘म अहिले नाम लिएर भन्दिनँ तर आफूलाई ठूलो पार्टी भन्ने, प्रतिपक्षी पार्टीभित्र यति ठूलो धाँजा परेको छ’ कार्यक्रममा उहाँले भन्नुभयो– नेताको विशाल पंक्ति र कार्यकर्ता हैरान परेसान भएर भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा छ । मलाई लाग्छ त्यहाँबाट कहीँ न कहीँ कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरण शुरु हुन्छ ।’
प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कसैले राम्रो काम गरेको देख्नै नसक्ने प्रवृत्ति भएको आरोप लगाउनु भयो । ओलीकै कारणले एमालेप्रति जनतामा निराशाा बढेको दाहालको भनाई छ ।
प्रधानमन्त्री दाहालले बर्खा सकिएपछि राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने समेत बताउनुभयो । ‘केही दिनपछि, बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाका पक्षमा, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ । जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हो’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले सरकार कति समय चल्छ भन्नेमा आफ्नो चिन्ता नरहेको उल्लेख गर्नुभयो । ‘मैले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठीकै छ, १ महिना भए पनि ठीकै छ’ उहाँले भन्नुभयो – राम्रो कामको सुरुवात गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउदो रहेछ हेर्छु, नेपाली जनताले पनि हेर्छन्’ उनले भने, ‘मलाई सरकार छोड्न गाह्रो मान्ने मान्छे पनि होइन म ।’