काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले शुरू गर्न लागेकाे १५ दिने समाजवादी जागरण अभियानकाे कार्यतालिका सार्वजनिक गरेकाे छ । पार्टीले तय गरेकाे पूर्व-पश्चिम ‘समाजवादी जागरण अभियान २०८०’ जनअभियानकाे कार्यतालिका सार्वजनिक गरेकाे हाे ।
तालिका अनुसार भाेलि (आइतबार) मेची किनारबाट प्रारम्भ हुने जनअभियान असोज २९ गते महाकालीमा पुगेर समापन हुने छ ।
पार्टीका महासचिव घनश्याम भुसालका अनुसार समाजवादी जागरण अभियान जनताको घर दैलोमा पुग्नेछ र जनताको दु:ख सुखमा साथ दिनेछ। उहाँले भन्नुभएकाे छ, 'सुशासन, विकास र रोजगारी हाम्रो मूल माग हो, भ्रष्टाचारको अन्त्य गर्न जनतालाई जागृत गर्नु हाम्रो काम हो ।'
सबै जाति, भाषा धर्म, संस्कृति र भूगोलका जनता बीचको एकताले राष्ट्र निर्माण भएकाे भन्दै यही एकताको जगमा नेपालीहरुले सयौं वर्षदेखि देशको स्वतन्त्रताको रक्षा गर्दै आएकाे पार्टीले जनाएकाे छ ।
तालिका अनुसार असोज १४ गते झापाको काँकडभित्ता, बिर्तामोड, दमक, उर्लाबारी , विराटनगरचोक, असोज १५ गते इटहरी, इनरुवा, भारदह र राजविराजमा जागरण अभियान सञ्चालन हुनेछ । असोज १६ गते बिहान राजविराज, असोज १७ मा जनकपुर, १८ गते रौतहट, १९ गते पथलैया, २० गते कावासोती, बर्दघाट लगायतका विभिन्न स्थानमा जागरण अभियान सञ्चालन हुनेछ ।
असोज २१ गते भैरहवा, बुटवल, २२ गते सैनामैना, चन्द्रौटा, २३ गते घोराही, तुलसीपुर, २४ गते नेपालगञ्ज, २५ गते राजापुर, टिकापुर, २६ गते लम्की, सुख्खड, २७ गते पुनर्वास, झलारी र २८ गते छिन्चु, सुर्खेत, वीरेन्द्रनगर लगायतका स्थानमा जागरण अभियान सञ्चालन हुने छ ।