काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार चीनकाे छन्दुबाट काठमाडौं फर्किदै हुनुहुन्छ । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किन लाग्नुभएकाे हाे ।
चीनमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्रीलगायत चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग भेट गर्नुभएका प्रधानमन्त्री दाहाल केही दिन अघि तिब्बत पुग्नु भएकाे थियाे ।
तिब्बतबाट छेन्दुङ पुग्नुभएका प्रधानमन्त्री दाहालले हिजाे (शुक्रबार) चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गर्नुभएको थियाे । वार्ताका क्रममा प्रधानमन्त्री दाहालले छन्दु नेपालबाट नजिकको शहर भएकाले नेपाली व्यवसायीहरूको पनि केन्द्र रहेको भन्दै यहाँबाट नेपालले कृषि उत्पादन तथा कृषिजन्य उद्योगका क्षेत्रमा पनि आवश्यक मात्रामा लाभ लिन सक्दछ भन्नुभयो ।
प्रधानमन्त्री दाहालले आफूले यस पटक चीनका राष्ट्रपति सि चिनफिङका साथै प्रधानमन्त्रीसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने अवसर पाएको र उहाँहरूले नेपाललाई दिएको महत्त्वबाट आफू प्रभावित रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले चीनले विज्ञान प्रविधि तथा भौतिक विकासदेखि लिएर धेरै क्षेत्रमा निकै नै महत्त्वपूर्ण प्रगति गरेकामा बधाई ज्ञापन गर्दै चीन नेपालको एक घनिष्ट मित्र रहेका नाताले सदैव नेपालको हित र विकास चाहने गरेको बताउनुभएको थियो ।
उहाँको भ्रमण दलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू, निजी क्षेत्रका तर्फबाट छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य व्यवसायी तथा सदस्यहरू रहनुभएको छ ।