काठमाडाैं। नेकपा (एकीकृत समाजवादी)ले आज (आइतबार) देखि 'समाजवादी जागरण यात्रा- २०८०' शुरू गर्न लागेकाे छ । १५ दिन लामाे मेची महाकाली जागरण यात्रा गर्न लागेकाे हाे ।
झापाबाट शुरू हुने समाजवादी जागरण यात्रामा सहभागी हुन केन्द्रीय नेताहरू शनिबार साँझ झापा पुगिसक्नुभएकाे पार्टीले जनाएकाे छ ।
काँकरभिट्टामा विषेश कार्यक्रम गरी शुरू गरिने अभियानमा सहभागी हुन पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतसहित केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडा, डा.विजयकुमार पौडेल तथा पोलिटव्युरो सदस्यहरू र केन्द्रीय सदस्यको टोली शनिबार काँकरभिट्टा पुगेको हो।
अभियानको उद्घाटन गर्न पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल अहिले बिहान झापा पुग्दै हुनुहुन्छ भने पार्टीका सम्मानित नेता झलनाथ खनाल र उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे पुगिसक्नुभएको छ। पार्टीका केन्द्रीय नेता तथा मन्त्री बेदुराम भुसाल, प्रकाश ज्वाला, पार्टीका महासचिव घनश्याम भुसाललगायतका नेता आज जाँदै हुनुहुन्छ ।
अभियान उद्घाटनको पूर्वसन्ध्यामा शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले युवालाई स्वरोजगार बनाउँदै सुशासन कायम गर्न अभियान सुरुवात गरिएको बताउनु भयो।
पार्टीको नीति बुझाउन जनतासँगै हातेमालो गरेर अघि बढ्ने बताउनु भयो। कार्यक्रममा एकीकृत समाजबादीका संगठन विभाग प्रमुखसमेत रहेका उपमहासचिव विजय पौडेलले १ हजार किलोमिटर लामो जागरण अभियानले खास सन्देश दिन लागेको बताउनु भयो।
अभियानभर तराईका १६ जिल्लाका ५८ भन्दा बढी स्थानमा कोणसभा र आमसभा आयोजना गरिने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयाे । अभियानमा जनतासँग प्रत्यक्ष भेटघाट गरेर उनीहरुको रायसुझाव लिने उहाँले बताउनु भयो । असोज १४ गते काँकरभिट्टाबाट शुरु हुने जागरण अभियान असोज २८ गते सुर्खेतमा पुगेर समापन हुनेछ ।