पोखरा । नेकपा एमालेको प्रदेश अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व छान्ने अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव गण्डकीमा पनि असफल भएको छ ।
लुम्बिनी, बागमती, कर्णाली र कोशीपछि गण्डकीमा पनि प्रदेश अध्यक्षसहित कमिटी चयनको लागि निर्वाचन हुने भएको छ । अधिवेशनमा निर्वाचन प्रक्रिया बुधबार बिहान ७ बजेदेखि शुरु भइरहेको छ । प्रदेश कमिटी नेतृत्वको लागि उम्मेदवारी दर्ता चलिरहेको छ ।
गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ ‘प्यानल’बाट वर्तमान अध्यक्ष नवराज शर्माको नेतृत्वमा टीम तयार भएको छ। पृथ्वीसुब्बा निकट समूहले म्याग्दीका शर्मा अध्यक्ष, स्याङ्जाका मीनप्रसाद गुरुङ उपाध्यक्ष, लमजुङका धनञ्जय दवाडी सचिवको उम्मेदवार बन्ने गरी टीम तयार पारेको हो । पृथ्वीसुब्बा निकट समूहमा पर्वतकी मन्जु अधिकारी र कास्कीका दामबहादुर बिक उपसचिवको उम्मेदवार बन्ने तयारी छ ।
एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङसँगै आफूहरुले सर्वसम्मतको प्रयास गरेपनि असफल भएको उपमहासचिव गुरुङले बताउनुभयो । ‘अन्तिमसम्म हामी सहमतिका लागि प्रयास गरेका हौं । उहाँहरु (अर्को पक्ष) सर्वसम्मतका लागि खुला हुनुभएन,’ उहाँले भन्नुभयो – ‘पद्मा र किरणको साथ मलाई छ ।’ पृथ्वीसुब्बा निकट प्यानललाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय विष्णु पौडेल तथा सुरेन्द्र पाण्डे र सचिव गोकर्ण बिष्टको पनि समर्थन रहेको अधिवेशनमा सहभागीहरुबीच गाइगुइँ चलेको छ ।
स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट प्यानल मंगलबार बेलुका सार्वजनिक भइसकेको छ । खगराज प्यानललाई महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालको साथ रहेको अधिवेशनमा सहभागीहरुको भनाई छ । स्रोतका अनुसार अध्यक्ष ओलीले भने अहिलेसम्म कुनै पक्षलाई आर्शिवाद दिइसक्नु भएको छैन । खगराज निकट प्यानलमा लमजुङका मायानाथ अधिकारी अध्यक्ष, नवलपुरका बाबुराम बिक उपाध्यक्ष, कास्कीका रश्मी आचार्य सचिवको उम्मेदवार बन्दै छन् ।
खगराज निकट प्यानलबमा म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरुङ उपसचिवको उम्मेदवार बन्ने तयारी छ । गुरुङ पक्षको लेखा आयोग अध्यक्ष उम्मेदवार नवलपुरका अमृत ज्ञवाली, उपाध्यक्ष उम्मेदवारमा गोर्खाका गिरधारी सापकोटा बन्ने तय भएको छ । आयोगको सचिवमा बाग्लुङका वीर बहादुर बिक टुंगिएको छ ।