पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट नवराज शर्मा प्यानलका २३ जना निर्विरोध भएका छन् ।
प्रदेश कमिटीका वर्तमान अध्यक्ष शर्माको प्यानलबाट अधिवेशनमा होमिएकाहरु मध्ये भूगोल खुलासहित, महिला, दलित, जनजाति र अल्पसंख्यक लगायत सदस्यमा निर्विरोध भएका हुन् ।
संघीय निर्वाचन क्षेत्रतर्फ मनाङबाट चीनबहादुर घले, मुस्ताङका इन्द्रधारा विष्ट, म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ, गोरखा संघीय निर्वाचन क्षेत्र १ बाट टिकानारायण श्रेष्ठ र २ बाट हरि काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।
लमजुङमा भूगोल खुलातर्फ प्रेमबहादुर घले र फूलबहादुर थापा, दलितबाट नन्दराम विक र महिलाबाट लक्ष्मी अधिकारी र विष्णुमाया राना निर्विरोध भएका छन् । म्याग्दी भूगोलबाट किरण सापकोटा र तिलक विक, दलिततर्फ पुष्कर विक निर्वाचित भएका छन् । नवलपुरबाट दलिततर्फ कृष्णबहादुर विक निर्वाचित भएका छन् ।
बाग्लुङबाट भूगोलबाट लिला राना र टंकप्रसाद शर्मा, अल्पसंख्यक महिलाबाट सुनकुमारी भुजेल, जनजाति खुल्ला महिलाबाट निर्मला थापा, लालसुब्बा गुरुङ र जोगमाया महतो निर्विरोध निर्वाचित भएका छन् । मजदूर महिलाबाट संगीता पाण्डे निर्विरोध निर्वाचित भएकी छन् । लेखा समिति सदस्यतर्फ मञ्जु केसी र रेखा पौडेल निर्वाचित भएका छन् ।
स्थायी समिति सदस्य खगराज अधिकारी निकट अध्यक्षका अर्का उम्मेदवार मायानाथ अधिकारीको समूहबाट कुनै पनि उम्मेदवार निर्विरोध हुन सकेका छैनन् ।