बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङका भूकम्प पीडितलाई ५० हजार र मृतक परिवारलाई २ लाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा गर्नु भएको छ ।
भूकम्प प्रभावित स्थल अवलोकनको लागि शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट बझाङ आउनु भएका प्रधानमन्त्री दाहालले भूकम्पबाट पूर्ण क्षति भएका प्रति घर परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माणका लागि ५० हजार र मृतक परिवारलाई २ लाख दिने प्रतिवद्धता जनाउनु भएको हो ।
प्रधानमन्त्रीले भूकम्पबाट भएको क्षतिग्रस्त स्थलको अवलोकनपछि सदरमुकाम चैनपुरमा स्थानीय प्रशासन र जनप्रतिधिसँगको छलफलमा यस्तो घोषणा गर्नु भएको हो ।
‘गत मंगलबारका दिन बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट कहाँ, के, कति क्षति भएको छ ? यकिन गरिने छ, प्रधानमन्त्रीले भन्नुभयो मूल्याङ्कन यस आधारमा सामान्य मर्मत सम्भार गर्नुपर्ने, गरी प्रबलीकरण गर्नुपर्ने वा पुनर्निमाण गर्नुपर्ने भन्ने निर्धारण गरी कार्य अघि बढाइनेछ ।’
प्रधानमन्त्रीले राहत सामग्री पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीको व्यवस्थापन भएको उल्लेख गर्दै थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताउनुयो ।
प्रधानमन्त्रीले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहत स्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने समेत बताउनुयो ।
भूकम्प प्रभावित स्थल अवलोकनको लागि प्रधानमन्त्रीसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख लगायत सहभागी हुनुहुन्थ्यो ।
असोज १६ गते बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्प र त्यसपछिको पराकम्पले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ । भूकम्पको कारण एक जनाको मृत्यु भएको छ, २० जना घाइते भएका छन् ।
घाइते मध्ये १३ जना उपचार पछि घर फर्किसकेका छन् । ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ ।