काठमाडौं । चीनद्वारा तेस्रो पटक आयोजित बेल्ट एन्ड रोड फोरम (बीआरआएफ) मा नेपालका २ जना मन्त्रीको सहभागी हुने भएको छ।
चीनद्वारा आयोजित विश्वस्तरीय सम्मेलन सहभागी हुनका लागि अहिलेसम्म २ जनामन्त्रीलाई निमन्त्रणा प्राप्त भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
तेस्रो बीआरआएफ असोज ३० देखि– कात्तिक १ गते (अक्टोवर १७–१८) सम्म हुँदैछ । त्यसमा सहभागिताको लागि भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई चीन सरकारले निमन्त्रणा दिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न चीन भ्रमणमा ऊर्जा र भौतिक पूर्वाधार विकासका सम्बन्धमा केही समझदारी भएका छन् । त्यसैको आधारमा ‘बीआरएफ’ मा नेपालको तर्फबाट ऊर्जामन्त्री बस्नेत र भौतिक पूर्वाधारमन्त्री ज्वालाले सहभागिता जनाउन लाग्नु भएको हो ।
‘निमन्त्रणा प्राप्त भएकाले उहाँहरुले तेस्रो बीआरआई सम्मेलनमा सहभागिता पक्कापक्की जस्तै छ’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘तर, उपप्रधानमन्त्रीको तहबाटै प्रतिनिधित्वका लागि पनि प्रयास भइरहेको छ।’
स्रोतका अनुसार तेस्रो बीआरएफमा नेपालले उपप्रधानमन्त्री तहको सहभागिता जनाएमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेतृत्व गर्नु हुनेछ ।
नेपालबाट कसले सहभागिता जनाउने भन्ने टुङ्गो लागि नसकेको ऊर्जामन्त्री बस्नेत भनाई छ । ‘बेल्ट एन्ड रोड फोरमका लागि नेपाललाई निमन्त्रणा प्राप्त भइसकेको छ, मैले पनि निमन्त्रणा प्राप्त गरेको छु’ उहाँले भन्नुभयो, ‘यससम्बन्धी अन्तिम निर्णय भने मन्त्री परिषदको बैठकले गर्नेछ।’
ऊर्जामन्त्री बस्नेतका अनुसार, यसै साता बस्ने मन्त्रिपरिषद् बैठकले तेस्रो बीआरएफमा सहभागी हुने मन्त्रीहरुको नामबारे निर्णय गर्नेछ।
सन् २०१९ मा सम्पन्न दोस्रो फोरममा नेपालबाट तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सहभागिता जनाउनु भएको थियो। तर चीनले अहिलेका राष्ट्रपति रामचन्द्र पौडेललाई भने निमन्त्रणा दिएको छैन।