काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नेकपा एमालेसँग फेरि एकता वा सहकार्य हुन सक्ने बताउनु भएको छ ।
माओवादी उपमहासचिव पुनले शनिबार राजधानीमा शनिवार आयोजित माओवादी जनयुद्धका शहीद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरूको सम्मान कार्यक्रममा एमाले र माओवादीको जरा एउटै भएको र कयौँ राजनीतिक एजेन्डामा समानता भएका कारण दुई पार्टी कुनै पनि बेला मिल्न सक्ने धारणा व्यक्त गर्नु भएको हो ।
माओवादीका प्रभावशाली नेता पुनले दुई पार्टी फेरि मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न आग्रह समेत गर्नु भएको छ ।
पुनले तत्कालीन नेकपाको राजनीतिक प्रतिवेदनमा आफूहरुले तत्कालीन मालेले झापा आन्दोलन हुँदै एमालेमा भएको रुपान्तरण, शान्तिपूर्ण संघर्ष र संसदीय अभ्यासका क्रममा हासिल गरेका शिक्षा तथा अनुभवको स्वामित्व आफूहरुले लिएको र माओवादी जनयुद्धको स्वामित्व तत्कालीन एमालेले लिएको तथ्य जगजाहेर रहेको स्मरण गराउनु भयो ।
पुनले कांग्रेसले ००७ साल, ०१८ साल, ०२५र०२६ सालमा गरी तीनपटक र तत्कालीन माले (हालको एमाले) को नेतृत्वमा ०२८ सालमा र तत्कालीन नेकपा माओवादीको नेतृत्वमा ०५२ सालमा हतियार उठेको इतिहास नबिर्सन सचेत गराउनु भयो। ती सबै हतियार निरंकुश राजतन्त्रको अन्त्य र राज्यको लोकतान्त्रिकरणका लागि भएको स्वीकार गर्न आफूहरुलाई कुनै अप्ठेरो नरहेको उहाँको भनाई छ ।
पुनले नेपालका मुलधारका प्रमुख तीन दलले कहिले सशस्त्र संघर्ष र कहिले शान्तिपूर्ण संघर्षको माध्यम प्रयोग गरेको भन्दै उनले ०७५ वर्ष लामो संघर्षको प्रतिफल अहिलेको राजनीतिक उपलब्धी भएको उल्लेख गर्नु भय।
शान्ति प्रक्रियाका बाँकी काम र संविधान रक्षासहित केही साझा एजेण्डामा काँग्रेसँग आफूहरुले सरकारमा सहकार्य गरिरहेको भए पनि एमालेसहित प्रतिपक्षी दललाई निषेध गर्नुपर्छ भन्नेमा आफ्नो दल नरहेको उहाँको दाबी छ ।