काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि कालापानी अवलोकन भ्रमण गर्नुभएको छ ।
प्रधानमन्त्री मोदी भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमा हेलिकोप्टरबाट बिहीबार बिहान पुग्नुभएको हो । प्रधानमन्त्री मोदीले नेपाली भूमि कालापानीमा पुगेर त्यहाँको वस्तुस्थिति अवलोकन गर्नुभएको तस्बिर तथा दृश्य भारतीय विभिन्न संचार माध्यमले प्रकाशित तथा प्रसारण गरेका छन् ।
प्रधानमन्त्री मोदीले आदि कैलाश र पार्वतीकुण्डको दर्शन गर्ने तथा पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि रहेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् । \
नेपाली भूमिलिम्पियाधुरा, कालापानी, लिपुलेक सन्धी सम्झौता विपरीत भारतले जबर्जस्त अतिक्रमण गर्दै आएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायतका भूभाग समेटेर २०७७ सालमा नयाँ नक्शा निकालेको छ । तर छिमेकी मुलुक भारतले त्यसलाई मान्यता दिएको छैन । नयाँ नक्शालाई मान्यता नदिएर भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई विवादित पार्न खोजेको छ। प्रधामन्त्री मोदीले नेपाललाई जानकारी नै नदिइ लिम्पियाधुरा, कालापानी, लिपुलेक भ्रमण गर्नुभएको हो ।
दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले प्रधानमन्त्री मोदीको भ्रमणबारे भारतीय पक्षले नेपाललाई जानकारी समेत नगराएको बताउनुभएको छ ।
‘मोदीको भ्रमणबारे भारतीय पक्षबाट औपचारिक पत्र प्राप्त नभएकाले धेरै जानकारी त छैन तर अनौपचारिक रुपमा सूचना लिएका छौं ’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्ती मोदी आउन लागेको थाहा पाएपछि भारतीय डिएमलाई फोन गरेर सोध्न खोजे पनि सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।
मोदीसँगै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी लगायत पनि कालापानी क्षेत्रको भ्रमणमा छन् । मोदीले सामाजिक सन्जाल एक्समा पिथौरागढमा परियोजनाको शिलान्यास र गुन्जी गाउँका बासिन्दासँग सम्वाद गर्ने उल्लेख गरेका छन् ।