विराटनगर । कोशी प्रदेशमा सत्ता गठबन्धनबाटै मुख्यमन्त्री बनाउन चलखेल शुरु भएको छ । चलखेलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लाग्नु भएको छ ।
कांग्रेस नेता डा शेखर कोइराला पक्षले नेकपा एमालेसहितको ४७ संख्या पुर्याएर प्रदेशसदस्य केदार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेपछि कोशीमा गठबन्धन संकटमा परेको छ ।
गठबन्धन नै धरापमा परेपछि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा त्यसलाई बचाउन तानाबाना बुन्न लाग्नुभएको हो । प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले यसमा कोशीका प्रदेश प्रमुख परशुराम खापुङलाई समेत प्रयोग गर्नु भएको छ ।
यसअघिको प्रकृया अनुसार ४७ संख्या पुरर्याएर मुख्यमन्त्रीको दाबी दाबी गर्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले शुक्रबार बेलुकीसम्म नियुक्ति गर्नुपर्ने थियो । तर प्रदेश प्रमुखले ४७ संख्या पुर्याउनु भएका कार्कीलाई शुक्रबार मुख्यमन्त्री नियुक्ति गर्नु भएन।
प्रदेश प्रमुख खापुङले नियुत्तिका लागि भोलि मात्रै सांसदहरुको सनाखत गराउने भन्दै प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवालाई कोइराला पक्षका सांसद गठबन्धनतर्फ नै तान्नको लागि चलखेल गर्ने समय दिनुभएको छ ।
प्रदेश प्रमुख कार्यालयले सांसदहरुलाई सनाखतको लागि शनिबार बोलाएको छ । सांसदहरुलाई शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्म सांसदको परिचय खुल्ने कागजातसहित सनाखतको लागि उपस्थित हुन भनिएको छ ।
सनाखत आजै गराउनुस भन्दै शुक्रबार प्रदेश प्रमुखका कार्यालय पुगेका कार्की पक्षका सांसदहरु
कार्कीलाई कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका ४७ जना नै सांसदहरु सनाखतको लागि शुक्रबार नै प्रदेश प्रमुख कार्यालय पुगेका थिए । कार्की पक्षका सांसदहरुले आजै सनाखत गराउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए । तर प्रदेश प्रमुखले आज साँझ पर्यो भोलि गरौँ भन्दै प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवालाई चलखेलको लागि एक रातको समय दिनु भएको हो ।