काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट गरिने पक्षपातले मुलुकमा अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने बताउनुभएको छ ।
एमाले अध्यक्ष ओलीले शनिबार एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राजनीतिक दलहरू तानाशाही व्यवस्था र शासकहरूबाट मुक्ति हासिल गरी आफ्नै शासन कायम गर्न जनताले खोलेका संस्था भएको धारणा व्यक्त गर्नुभयो ।
हामीले आज विशेष जोड दिनुपरेको छ, राजनीतिक दलहरूले केवल कार्यकारी शक्तिको अभ्यास गर्न होइन’ उहाँले भन्नुभयो– दीर्घकालिक राष्ट्रियहितको रक्षा गर्न सक्षम, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई सम्पूर्ण रूपले केन्द्रित गर्नुपर्दछ । सरकारबाट गरिने अन्याय एवं पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र खुम्च्याउँदैन । सरकारका त्यस्ता निर्णय, गतिविधि र व्यवहारले आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत त्यसले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउँछ ।’
एमाले अध्यक्ष ओलीले एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनले अस्थिरता, द्वन्द्व र अराजकता अन्त्यको लागि भूमिका खेल्नुुपर्ने उल्लेख गर्नुभयो । ‘एसियाली राजनीतिक दलका हैसियतले विश्व आर्थिक मामिलामा एसियाको प्रभावकारी भूमिका बढाउन प्रयत्नशील रहँदा, आउनुहोस् मित्रहरू हामी विश्वका गम्भीर समस्या समाधान गर्न समेत नेतृत्वदायी भूमिका खेल्ने संकल्प गरौँ’ कार्यक्रममा उहाँले भन्नुभयो – विश्वको बहुसंख्यक ज्ञान र कला एसियामा उत्पादन गर्ने संकल्प गरौँ । विश्वको संस्कृति र विमर्शलाई दिशानिर्देश गर्ने संकल्प गरौँ । हाम्रो प्रकृतिको रक्षा गर्दै मानवीय सम्भावनाको अधिकतम उपयोग गर्ने, साझा समृद्धि र दिगो उन्नति हासिल गर्न नेतृत्व लिने संकल्प गरौँ ।’
एमालेले परिपूर्ण लोकतन्त्रको अवधारणा अवलम्बन गर्दै नेपाली जनताको सुख र समृद्धिको आकांक्षा पूरा गर्नुलाई आफ्नो सबैभन्दा ठूलो कार्यभार मानेको ओलीको भनाई छ । हामी नेपालमा तीब्र आर्थिक वृद्धिदर कायम भएको गतिशील अर्थप्रणाली निर्माण गर्न चाहन्छौँ । उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी सृजना गर्न, सामाजिक सुरक्षा कायम गर्न, कनेक्टिभिटि र भौतिक पूर्वाधार निर्माण गर्न तथा वातावारण संरक्षण गर्दै राष्ट्रिय विकासको नेतृत्व गर्न चाहन्छौं’ उहाँले भन्नुभयो– विदेश मामिलामा सार्वभौम समानता, पारस्परिक लाभ, न्याय र निष्पक्षताले हामीलाई निर्देशित गर्दछन् । सबै सँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने सिद्धान्तमा हाम्रो अटल विश्वास छ हामी सबै द्विपक्षीय, क्षेत्रीय, तथा बहुपक्षीय अन्तर्राष्ट्रिय मन्चका सरोकारवालाहरूसँग साझा चासो र पारस्परिक लाभका विषयमा सहकार्य गर्न चाहन्छौं ।’