माधव पाेखरेल
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारबाट वडा नम्बर ५ सुन्दरपुर ९ र १० को हडिया गाउँमा जानका लागि पुल नहुँदा स्थानीयलाई वर्षौदेखि समस्या उत्पन्न भएको छ भने सो क्षेत्रका प्रदेशसभा सदस्य र संघीय सांसद मौन रहेको छन्।
वर्षाका समयमा र झन् ठूलो समस्या हुन्छ भने हिउँदका समयमा पनि हडिया र सुन्दरपुर लगायतका गाउँबाट बेल्टार बजार आउन जान घुँडामाथि सम्म पानीमा हेलिएर हिड्नु पर्ने बाध्यता रहेको छ ।
२०७९ सालको निर्वाचनमा उदयपुरको निर्वाचन क्षेत्र १ (ख) बाट प्रदेशसभामा राजन किराती र संघीय संसदमा डा. नारायण खड्काले प्रतिनिधिसभाको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भए पनि विकास निर्माणका काममा चासो नदिएको स्थानीयको गुनासो रहेको छ । यस अघि शहरी विकास मन्त्री र परराष्ट्रमन्त्री समेत भैसकेका डा. खड्कालाई भेटेर स्थानीय पटक पटक नै त्रियुगा नदीमा पुल निर्माण गरिदिन अनुरोध गरेको भए पनि टेर पुच्छर नलगाएकोले बाध्य भएर बासको पुल हाल्नु परेको ज्यामिरे गाउँका बासिन्दा र हडियाका बासिन्दाले बताउँछन् ।
बेल्टार बजारबाट ५ सुन्दरपुर, ९ र १० नम्बर वडाहडियाजान ज्यामिरे हुँदै जाँदा बीचमा त्रियुगा नदीको फराकिलो बगर र बगेको पानी पर्दछ भने बेल्टारबजारबाट ५ नम्बर वडाको सुन्दरपुर बजार जान सिवाईमा त्रियुगा नदी तरेर जानु पर्ने बाध्यता रहेको छ ।
चौदण्डीगढी नगरपालिका वडा नं ९ का वडाध्यक्ष प्रकाश राउतले त्रियुगा नदीमा बेल्टारबाट हडियाँ जोडनकालागि २०७४ सालदेखि नै ह्युम पाइप लगाएर आफुले वडाको खर्च गरेर बनाएको र बाटो सुचारु भएको बताउनुभयाे ।
चौदण्डीगढी ९ का वडाध्यक्ष धर्मेन्द्र कुमार खड्काले पुल बनाइदिन्छु भनेर माननीय खड्काले पटक पटक भनेको तर योजना पार्न नसकेको र जनतालाई सधैँ ढाँट्ने झुक्याउने गरेको बताउनुभयाे ।
बेल्टारबाट सुन्दरपुर जोड्ने सिवाइमा त्रियुगा नदीको पुल नै वर्षौदेखि अलपत्र भएको छ । निर्माण सकिएर यातायात संचालन हुन नपाउँदै तीन वर्ष अघि भत्किएर काम नलाग्ने अवस्थामा पुगेको भए पनि मर्मत सम्भारतर्फ ठेकेदारले वास्ता नगरेको स्थानीयको आरोप छ ।
१० नम्बर वडाध्यक्ष खड्काले तत्काल बेल्टारबाट ज्यामिरे हुँदै हडिया जान आउनकालागि स्थानीययुवाहरुको पहलमा बासको अस्थायी पुल (फड्के) निर्माण गरेको र सो बासको पुल बनाउन ४ हजार घना बास प्रयोग भएको छ भने २ सय जनाले श्रम गरेको बताउनुभयाे ।
देवधार गाउँबाट हडिया जोड्ने पुल निर्माणकालागि ठेक्का लागेको जानकारी दिंदै वडाध्यक्ष खड्काले धरानको सूर्य एण्ड सन्स निर्माण कम्पनिले ३ सय ३० मिटर लामो पुल १ करोड ५० लाखमा ठेक्का लिएको र ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको बताउनुभयाे ।
त्रियुगा नदीमा स्थायी पुल नहुँदा प्रत्येक वर्ष चौदण्डी गढी नगरपालिकाले वार्षिक १५ लाख रुपैयाँ अस्थायी पुल बाटोमा खर्च गर्दै आएको जानकारी दिँदै वडाध्यक्ष खडकाले वर्षै पिच्छे यसरी खर्च गरेर विकास हुँदै बरु स्थायी संरचना बनाउनतिर लाग्नु पर्ने बताउनुभयाे ।
चौदण्डीगढी वडा नम्बर ५ का वडाध्यक्ष तुलसीराम ढकालले पनि सांसद डा. नारायण खड्काको वेवास्ताका कारण त्रियुगा नदीमा पुल बन्न नसकेको बताउनुभयाे । वडाध्यक्ष ढकालका अनुसार भोट माग्ने बेलामा डा. खड्काले अनेक बहाना गरेर बिश्वास दिलाएर भोट मागेकाे तर काम गर्ने बेलामा कुरा नसुनेको बताउनुभयाे ।
स्थानीय नेता कार्यकर्ताले पटक पटक फाेन गर्दा पनि नउठाउने र विकास निर्माणको कामप्रति मतलव नराखेको गुनासो गरेको छन्। उदयपुर १ बाट चार पटक सांसद भए पनि जनताका समस्याप्रति चासो नदिएकाले यस क्षेत्रका जनता नै आक्रोसित भएको गुनासो बढेको छ ।
बेल्टार बजारबाट सुन्दरपुर जोड्ने सिवाई पिस्थत त्रियुगा नदीको पुल बनाउन शुरु गरेको चौध वर्ष भयो । तीन वर्ष अघि भत्किएको थियो । तर भत्किएको पुल अहिले पनि जस्ताको त्यस्तै रहेको छ भने माननीय डा. खड्काले सो मर्मत संभार वा पुन निर्माणका लागि सम्बन्धित निकायमा पहल नगरेको ५ नम्बर वडाध्यक्ष ढकालको भनाइ छ ।
अहिले त्रियुगा नदीमा पानी धेरै भएकाले अस्थायी पुल बाटो बनाएको छैन । पानी घटेपछि नदीमा २० थान होमपाइप राखेर करीब २ सय मिटर बाटो बनाउने योजना रहेको र दुई दिनपछि काम शुरु गर्ने वडाध्यक्ष ढकालले बताउनुभयाे ।
त्रियुगाको सिवाई स्थित भत्केको पुल निर्माणका लागि काठमाडाैंमा सांसद डा. खड्कासहित भएर विभिन्न दलका नेता कार्यकर्ताका साथमा छलफल भएको तर डा. खड्काले विकास निर्माणमा ध्यान नदिएको वडाध्यक्ष ढकाल बताउनु हुन्छ ।