-माेहनप्रसाद मैनाली
बलिपूजाको वास्तविक अर्थ अहंकारलाई नाश गर्नु हो । अहंकार मार्नु नै यथार्थमा बलिपूजा हो । हाम्रो अहंकार महिषासुर दानव हो । देवी भगवती भन्नु हाम्रै विवेकवती बुद्धि हो । दुर्गा भनेको दुर्गतीलाई नाश गर्नु हो ।
दुर्गतीको अर्थ टाढा पुग्नु भनेको हो । आफै आनन्दस्वरुप आत्मा भएर पनि आनन्द प्राप्त गर्न संसारमा भौतारिन्छौं । टाढा–टाढा पुग्छौं । दुुर्गा भवानीको सात्विक पूजापूर्वक उहाँलाई प्रशन्न तुल्याएँ भन्ने मानसिकता पैदा गर्न सकियाे भने हामी खुशी हुन्छाैं र आनन्त प्राप्त गर्न सक्छाैं, जस्ताे कि गुरूले सिकाए अनुसार चेलाले कर्तव्य पुरा गर्दा गुरू खुशी हुन्छन् । देवी भवानी खुशी भएर हामीलाई उहाँको अनुग्रह (आशिर्वाद) प्राप्त छ भन्ने विश्वास भएपछि मन प्रसन्न हुन्छ र हाम्रो विवेक र बुद्धीको उदय हुन्छ । हामीलाई सद्ज्ञान प्राप्त हुन्छ र हाम्रो अहंकाररुपी महिषासुर दानवको नाश हुन्छ ।हाम्रा आगतका दिन सहज, सरल र सफल हुँदै जान्छ ।
नेपालीहरूले मान्दै आएका धेरै चाडपर्वहरु छन्, सबै चाडपर्वकाे आफ्नै विशेषता र महत्व छ । यी चाडपर्वहरु मध्ये पनि “दशैं र तिहार” अत्यन्त महत्वपूर्ण मानिएकाे छ । दशैंमा नवदुर्गा भवानीको पूजा विधिपूर्वक गरेर घटस्थापनादेखि शुभारम्भ गरी दशमीका दिन बिहान पूजा बिसर्जन गरी मान्यजनहरुको हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने परम्परा छ।
त्यसैगरी तिहारमा पनि यम पञ्चकको पूजाको विधान छ । काग तिहार, कुकुर तिहार, गाईतिहार, गोरु तिहार र भाइ तिहार (पाँच दिन तिहार) मनाइन्छ । यी सबै तिहारहरुमा यमराजको पूजा अनिवार्य छ । यम पूजाबाट यमराज खुशी हुन्छन् । यदि आफूले गरेको पाप कर्मले गर्दा यमलोकमा जानुपरेकाे छ भने त्यस बेलामा यमराजले आफ्नो पूजा गर्ने भक्तहरुलाई कम सजायँ दिन्छन् वा सजाय माफ गर्न पनि सक्छन् भन्ने धर्मशास्त्रको मान्यता छ। त्यसैले पनि यमपञ्चकमा यमराजकाे पूजा गर्ने हाम्राे संस्कार रहेकाे छ ।
यसरी देवी–देवताहरुको पूजा प्रसाद ग्रहण गर्नुबाट हामीलाई आनन्द प्राप्त हुन्छ । आनन्द भनेको वास्तवमा ब्रम्हानन्द हो । ब्रम्ह भनेको सच्चिदानन्द हो । सत् भनेको सधैँ रहिरहने, चित भनेको स्वयं अनुभव हुने र आनन्द भनेको कहिल्यै पनि नहराउने सुख हो । वास्तवमा प्रसाद ग्रहण गर्नु भनेको पनि त्यही आनन्दको अनुभव गर्नु हो । हाम्रा विभिन्न चाड पर्वले हामीलाई आनन्दको अनुभुति सिकाउँछ ।
दशैं तिहारमा परिवारबाट टढा भएका र काम विशेषले देशविदेश गएका सदस्यहरु पनि जम्मा हुन्छन् । आफ्ना मान्छेसँगको भेटबाट चित्त शान्त हुन्छ, चित्त शान्त हुनु भनेको आनन्दको अनुभुति हुनु हो । आनन्द भनेको के हो ? र, त्यो कसरी प्राप्त हुन्छ त ? आनन्द भनेको हामी आफ्नै असली स्वरुप आत्मा हो, आत्मा हाम्रै मनको भित्र रहेको हुन्छ ।
मन शान्त (अचल) भएपछि आत्माको छाँया शाान्त मन या चित्तमा पर्दछ । शान्त मन आत्मातर्फ (भित्र) फर्केकाले र त्यो भित्र रहेको आत्मा आफ्नै शान्त चित्तमा प्रतिविम्वित भएकाले हामीलाई आनन्द प्राप्त भएको हो । जस्तो हाम्रो हातमा रहेको ऐनालाई आफ्नो मूखतर्फ फर्काउने हो भने त्यो ऐनामा आफ्नो मुख प्रष्ट देखिन्छ । सफा र शान्त ऐनामा आफ्नो मुख देखिए झैँ शान्त चित्तरुपी ऐनामा आफ्नो आत्माको अनुभव भएर हामीलाई जुनसुकै बेला पनि आनन्द प्राप्त हुन्छ । त्यसकारण यो दशैं तिहारमा पूजा र प्रसाद ग्रहण गर्नु र मान्यजनबाट आशिर्वाद प्राप्त गर्नुकाे तात्पर्य पनि आनन्द कै अनुभव गर्ने एउटा ठूलाे माध्यम हो ।
कसैले राम्रा–राम्रा लुगाहरु लगाएर आनन्दको अनुभव गर्छन् । कसैले राम्रा गहना लगाएर त कसैले मिठा खानेकुरा खाएर आनन्द प्राप्त गर्दछन् । कसैले मन परेकाे खेल खेलेर पनि आनन्द प्राप्त गर्दछन् । यी सबै अवस्थाहरुमा शान्त चित्तमा आत्मा कै अनुभव हुन्छ र आनन्द हुन्छ । आनन्द भनेको हामीबाट भिन्न वस्तु हुँदै होईन, आफ्नै असलीस्वरुप आत्मा हो । आत्मा चिन्न सक्नुपर्छ, पहिला आफू के हाे र के प्राप्तीका लागि कर्म गर्दैछु भन्ने कुरा बुझ्नुपर्छ ।
आनन्दस्वरुप आत्माको अनुभव गर्ने माध्यम शान्त चित्त हो । गलत संस्कार र कुप्रथाहरूकाे अन्त्य गर्दै, समयानुकुल संस्कारकाे थिति मिलाउँदै पुर्खाकाे नासाेकाे रूपमा रहेकाे चाडपर्व मनाउँनुपर्छ । आनन्द र खुशी प्राप्त गर्नुपर्छ । खुशीले नै समग्रमा दशैं नेपालीहरुको आनन्द र खुशीको चाड हो । सबैमा दशैँको शुभकामना ।