काठमाडाैं । विज्ञहरुले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने सुनौलो अवसरको रुपमा लिनुपर्ने बताएका छन् ।
जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले हिमाली र पर्वतीय क्षेत्रमा रहेका १३६ वटा राष्ट्रलाई जलवायु परिवर्तनको जोखिमबाट बचाउन राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणलाई सुनौलो अवसरको रुपमा उपयोग गर्नुपर्ने बताउनुभएको हो ।
गुटेरेसको भ्रमणलाई अवसरको रुपमा लिई नेपाल र नेपालजस्तै जलवायु परिवर्तनको जोखिममा रहेका अन्य देशहरुको हितमा परिणत गर्न पनि नेपाल सरकारलाई सुझाव दिनुभयो । उहाँले जलवायुविज्ञ उप्रेतीले महासचिव गुटेरेसले नेपालको भ्रमण गर्नुलाई नेपालमा जलवायु परिवर्तनको असर छ भन्ने स्पष्ट सन्देश दिएको उल्लेख गर्दै नेपालमा जलवायु परिवर्तनले पुर्याएको क्षति बापत ५० बिलियन अमेरिकी डलर बराबरको बजेट दिनुपर्ने बताउनुभयो ।
उहाँले भ्रमणले संयुक्त राष्ट्र संघमा बुझाएको योजनालाई प्राथमिकतामा साथ अघि बढाउन संयुक्त राष्ट्रसंघलाई बल पुर्याएको पनि बताउनुभयो । त्यसैगरी इजिप्टमा गत वर्ष सम्पन्न संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धि सम्मेलनमा हानी नोक्शानी सम्बन्धी कोष परिचालन गर्न भएको सहमति प्रभावकारी ढंगले परिचालन गर्न पनि महासचिव गुटेरेसको नेपाल भ्रमण उपयोगी हुने उहाँले बताउनुभयो ।
विज्ञ उप्रेतीले विकासोन्मुख देशहरुमा जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि सय बिलियन अमेरिकी डलर सहायता गर्नुपर्ने माग संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्न महासचिव गुटेरेसको नेपाल भ्रमणले बल पुग्ने बताउनुभयो । नेपाल पर्वतीय, हिमाली र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश भएको हुनाले आफू जस्तै भौगोलिक अवस्थामा रहेका जी ७७ लगायतका मुलुकहरुको हितमा हुनेगरी संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसको भ्रमणमा आफ्ना कुरा राख्न सक्नुपर्ने पनि विज्ञ उप्रतीले बताउनुभयो ।
जलवायु विज्ञ उप्रेतीले महासचिव गुटेरेसको नेपाल भ्रमणले नेपाल जस्तै जलवायु परिवर्तनका कारण भएको असरका कुराहरु राख्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल जलवायु परिवर्तनका हिसावले जोखिममा रहेको बताउनुभयो । उहाँले हानी नोक्शानी वित्तको बारेमा कसरी अघि बढ्ने भन्नेमा नेपालको स्पष्ट नीति नरहेको बताउनुभयो ।
विज्ञ उप्रेतीले राष्ट्र संघका महासचिव गुटेरेससँग नेपालले जलवायु परिवर्तनसम्बन्धि दुबई सम्मेलनमा अतिकम विकसित देशहरुको अध्यक्ष राष्ट्रको हैसियतले पनि सम्बोधन गर्ने भएकाले पनि त्यसैमा केन्द्रित भएर छलफल गर्नुपर्ने बताउनुभयो ।