जनकपुरधाम । धनुषाको जनकपुरधाममा यही कात्तिक २२ गतेदेखि तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ ।
मङ्गलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक २२ गतेदेखि २४ गतेसम्म महेन्द्र नारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा सम्मेलन आयोजना गरिने जानकारी दिइएको हो ।
सम्मेलन आयोजक समितिका संयोजक डा राकेशकुमार सिंहले नेपालसहित विश्वका विभिन्न २५ देशका आयुर्वेद विज्ञ चिकित्सकको सहभागितामा सम्मेलन हुन लागेको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन अवधिमा आधुनिक चिकित्सा प्रणालीमा आयुर्वेदको महत्वमाथि चर्चा, विज्ञको संगोष्ठी, आयुर्विज्ञानका क्षेत्रमा भएका अध्ययन, अनुसन्धान, शिक्षालगायत विषयबारे प्रस्तुतीकरण, आयुर्वेदका १४ विधामाथि विमर्श, अन्तर्राष्ट्रिय युवा समिट, व्यापार, वाणिज्य, लगानी र विश्व बजारमा नेपालको उत्पादनको पहुँचजस्ता विषयमा विचार मन्थन हुनेछ ।
पत्रकार सम्मेलनमा जानकी मन्दिरका सह–महन्थ रोशन दासले प्राचीनकालदेखि नै आयुर्वेद चिकित्साका क्षेत्रमा ख्यातिप्राप्त मिथिला क्षेत्र र सिङ्गो नेपालको महिमामाथि प्रकाश पार्नुका साथै नेपालको जडीबुटी, वनसम्पदा, वन्यजन्तु तथा खनिजको उपयोग गरी मानव कल्याणबारे विश्वव्यापीरुपमा चेतना प्रचारप्रसार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।
उहाँले आयुर्वेद चिकित्साको विकासले मानव स्वास्थ्यका साथै यहाँको धार्मिक, पर्यटकीय तथा आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनको प्रमुख आयोजकमा बह्मभूमि हेल्थ रिसर्च सेन्टर, नेपाल आरोग्य सङ्गठन, बह्मभूमि आयुर्विज्ञान अनुसन्धान संस्थान सर्लाही रहेका छन् ।