काठमाडौं । विभिन्न पटक बसेको संघीय संसद बैठक उपलब्धि विहीन बनेको छ । सांसदहरु जिम्मेवारीबाट पन्छिएका छन् ।
१ सय ८० दिन सम्म अधिवेशन चालु रहँदापनि कानुन निर्माणको मुख्य कार्यभार रहेको जनप्रतिनिधि थलो प्रतिनिधिसभाले कानुन निर्माणमा भने ठोस प्रगति हासिल गर्न सकेन । संसदले कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्न नसकेकोमा प्रमुख दलको साझा धारणा देखिए पनि त्यसको दोषबाट आफूहरु भने पन्छिने गरेका छन् ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशन २०८० साल वैशाख २४ गते आइतवार प्रारम्भ भई २०८० साल कार्तिक १६ गते बिहीवार अन्त्य भइसकेको छ । १ सय ८० दिन चालु रहेकोमा ६१ दिनमा ६५ पटक बैठक बसी जम्मा २४४ घण्टा ५० मिनेट ससंदीय काम कारवाही गरेको विवरण संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ ।
विभिन्न राजनीतिक दल कानुन निर्माणमा दोस्रो अधिवेशनले प्रभावकारी भूमिका खेल्न नसकेकोमा एकमत देखिएपनि त्यसको दोषबाट आफूहरु भने पन्छिने गरेका छन् । सत्तारुढ नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुले अपेक्षा गरे अनुरुप विधेयक संसदको दोस्रो अधिवेशनबाट पारित हुन नसकेका स्वीकार्नु हुन्छ । यद्यपि संसदको काम विधेयक पारित गर्ने मात्रै नभएर बजेट बनाउने पनि भएको भन्दै यो बजेट अधिवेशनबाट बजेट पारित गरिएको उहाँको भनाई छ ।
माओवादी सचेतक पाण्डेले जनताको आवाज जनप्रतिनिधिमार्फत संसदमा प्रस्तुत भइरहेको र सरकारलाई खबरदारी पनि भइरहेको भन्दै संसदले केही पनि काम गरेन भन्न बताउनु हुन्छ ।
नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले बजेट अधिवेशन भएकाले संसद बजेटमै केन्द्रित भएको बताउनुहुन्छ । संक्रमणकालिन न्याय सम्बन्धी विधेयक, सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक लगायतका अन्य विधेयक पनि अन्तिम अवस्थामा रहेको भन्दै तर पनि यसलाई प्रगतिकै रुपमा मान्नुपर्ने दाबी गर्नुहुन्छ । समितिमा विभिन्न विधेयक रहेकाले प्रतिनिधिसभाले आफूले गर्नुपर्ने काम गरिरहेको उहाँको भनाई छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद राजेन्द्रकुमार राई सरकारले प्रतिनिधि सभामा विधेयक लैजाने प्रयत्न नै नगरेको बताउनुहुन्छ । सरकार सत्ता टिकाउन मात्रै केन्द्रित रहेको भन्दै उहाँले आफूहरुले विधेयक ल्याउनका लागि घच्घच्याउँदा पनि नसुनिएको बताउनुभयो । राईले सत्तारुढ दल र सरकारका कारण संसदबाट प्रभावकारी रुपमा कानुन निर्माण हुन नसकेको धारणा व्यक्त गर्नुभयो । प्रतिनिधिसभाको दोस्रो अधिवेशनबाट खुशी हुने ठाउँ नभएको उहाँको भनाई छ ।
६ महिनाको अवधिमा संघीय संसदको संयुक्त सदनको जम्मा ६ वटा बैठक बसी ७ घण्टा ५ मिनेट समय व्यतित भएकोे छ । तर, यति लामो समयसम्म अधिवेशन चालु रहँदापनि कानुन निर्माणको मुख्य कार्यभार रहेको जनप्रतिनिधि थलो प्रतिनिधिसभाले कानुन निर्माणमा भने ठोस प्रगति हासिल गर्न सकेन । बजेट अधिवेशनको रुपमा लिइने यस अधिवेशनले बजेटसँग सम्बन्धित विधेयकको अलवा मिटरब्याजसँग सम्बन्धित विधेयकलाई मात्र पारित गर्नसक्यो । यसले कानुन निर्माणमा राजनीतिक दलको बेवास्तालाई छर्लङ्ग पारेको छ ।