रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकालाई विभिन्न सङ्घसंस्थाबाट भूकम्पपीडितको लागि राहत सामग्री प्राप्त भएको छ ।
पीडितका लागि विभिन्न सङ्घसंस्थाले यतिबेला राहत सामग्री नगरपालिकामै पुर्याएर सहयोग गरिरहेका छन् भने केहीले सहयोगका लागि घोषणा गरिरहेका छन् । केहीले नगदसमेत हस्तान्तरण गरेका छन् । विभिन्न सङ्घसंस्थाले भूकम्प प्रभावित क्षेत्रमा पुगेर उद्धारसमेत गरिहेका छन् । देश तथा विदेशबाट सहयोग आउने कार्यक्रम पनि जारी छ ।
आइबारबाट राहत सामग्री आउन शुरु भएको थियो । भूकम्पपीडितका लािग राहत सामग्री आउने क्रम रोकिएको छैन । नगरपालिकालाई खाद्यान्नसँगै अन्य राहत सामग्री आइरहेका छन् । पहिलो चरणको राहत सामग्री मृतकका परिवारलाई वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।
मृतकका २४ घरपरिवारलाई राहतसँगै किरिया खर्चबापतको २५ हजार रकम उपलब्ध गराइएको आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले जानकारी दिनुभयो । नगरपालिकामा घर पूर्णरुपमा क्षति भएकालाई पनि खाद्यान्नसँगै बस्नको लागि त्रिपाल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले शनिबार उद्धार कार्य सकेर आइतबारदेखि राहत वितरणको काम सुरु गरेको हो । राहत वितरण कार्य आज पनि जारी रहेको नगर उपप्रमुख शाहीले जानकारी दिनुभयो ।
नगरपालिकालाई देश तथा विदेशबाट सहयोग आइरहेको छ । हालसम्म नगरपालिकालाई विभिन्न ३४ वटा सङ्घसंस्था तथा व्यक्तिले राहत सामग्री हस्तान्तरण गरेको आठविसकोट नगरपालिका जिन्सी शाखा प्रमुख टेकबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकालाई खाद्यान्नलगायत बस्नको लागि त्रिपाल टेन्ट कम्बल, स्वास्थ्य सामग्रीलगायत नगद सहयोग प्राप्त भएको छ।
नगरपालिकालाई आर्थिक तथा खाद्यान्नलगायत राहत सामग्री आउने क्रम जारी रहेको र भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणको काम पनि जारी रहेको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार राहत वितरण चलिरहेको र सबै भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाए गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो ।