जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले गत शुक्रबार गएको भूकम्पबाट पीडित भएका सर्वसाधारणलाई चिसो तथा हिमपातबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सहभागितामा भएको अन्तर्क्रियामा उहाँले यसअघि भूकम्पको समयमा गरिएका कामको सिकाइलाई जाजरकोटमा भएको क्षतिसँग जोडेर पुनःनिर्माणको कामलाई अभियानका रुपमा अगाडि बढाइने बताउनुभयो ।
पुनःनिर्माणको अभियानमा सबै विकास साझेदार निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै मन्त्री बस्नेतले तत्कालका लागि राहत व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । राहत सामग्री बोक्नका लागि ठूलो हेलिकप्टर प्रयोग गर्न खोजिए पनि अवतरणमा समस्य भएको उहाँको भनाइ थियो । ठूला ढुवानीका साधन पालिकाको सदमुकामसम्म पुग्नसक्ने अवस्था नभएकाले राहत व्यवस्थापनमा ढिला भएको उहाँले बताउनुभयो ।
सानो हेलिकप्टर प्रयोग गर्दा राहत सामग्री थोरैमात्र ढुवानी भएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । बाहिरबाट आएका सामग्री एकद्वार प्रणालीबाट सबै ठाउँका परिचालन गर्न पठाइएको जनाउँदै उहाँले सदरमुकामबाट पठाइएका सामग्री जाम भएपछि समस्य आएको बताउनुभयो । सदरमुकामबाट पालिकाको केन्द्र, पालिकाको केन्द्रबाट वडा कार्यालय र वडा कार्यालयबाट पीडितसम्म पुग्नका लागि समय लागेको मन्त्री बस्नेतको भनाइ थियो । वडाध्यक्षले वडा सदस्यलाई समेत परिचालन गरेर सामग्री वितरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
केन्द्रबिन्दुमा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको मन्त्री बस्नेतले बताउनुभयो । बारेकोट, कुशे गाउँपालिकामा त्रिपालको समस्या देखिएको भन्दै खाद्यान्नभन्दा पनि त्रिपालको समस्या बारेकोटमा बढी देखिएको उहाँले बताउनुभयो ।
जाजरकोट र रुकुमपश्चिममा भएको क्षतिलाई एउटा योजना बनाएर पुनःनिर्माणको काम गरिने मन्त्री बस्नेतले समितिलाई जानकारी गराउनुभयो । पुनःनिर्माण तथा पुनःस्थापनाको कामलाई गति दिन समस्या भइरहेको उहाँको भनाइ थियो । बढी चिसो भएमा पीडितलाई अस्थायी सेन्टर स्थापना गरी व्यवस्थापनको काम गरिने उहाँले जानकारी दिनुभयो ।
मन्त्री बस्नेतले दुःखमा साथ दिने, योगदान गर्ने, सल्लाह, सुझाव र हौसला दिने सबैलाई जाजरकोटको प्रतिनिधिका हिसाबले धन्यवादसमेत दिनुभयो । सुरक्षाकर्मी मित्रको पु¥याएको योगदानलाई भुल्नै नसक्ने भन्दै उहाँले विशेष धन्यवाद दिनुभयो ।