विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् छठपर्व सकिएपछि मात्रै विस्तार हुने भएको छ । सरकारमा सत्ता गठबन्धनका दलहरुको सहभागिता गराउने सम्बन्धमा भएको मुख्यमन्त्री केदार कार्की र अन्य दलका नेताबीचको छलफलमा यस्तो सहमति भएको हो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच भएको छलफलमा छठपछि सरकार विस्तार गर्ने सहमति भएको हो ।
मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा काँग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले ३, नेकपा एस र जसपाले एक–एकजना मन्त्री पाउने सम्भावना भए पनि यसबारे अन्तिम टुंगो लाग्न बाँकी रहेको नेताहरुले बताएका छन् ।
मुख्यमन्त्री कार्कीले सरकार विस्तार, बजेट प्रतिस्थापन विधेयकलगायत विषयमा शुक्रबार माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईसँग छलफल गर्नुभएकाे थियाे । यसैगरी उहाँले नेपाली काँग्रेस दलका नेता उद्वव थापा, माओवादीका आङ्बो, नेकपा एसका राई र जसपाकी सांसद निर्मला लिम्बूसँग बेग्ला बेग्लै छलफल गर्नुभएकाे थियाे ।
प्रदेश सरकारबाट हुने राजनीतिक नियुक्ति पनि सहमतिकै आधारमा गरिने भएको छ । माओवादी संसदीय दलका नेता आङ्बोले छठपछि सरकार विस्तार गर्ने सहमति भएको बताउनुभयाे ।
हाल सरकारमा मुख्यमन्त्री कार्कीबाहेक माओवादीका गणेश उप्रेती, काँग्रेसका शम्शेर राई र नेकपा एसका कमलप्रसाद जबेगु विनाविभागीय मन्त्रीका रुपमा छन् । सरकारमा सहभागी एमालेका मन्त्री राम रानाले भने राजीनामा दिइसक्नुभएकाे छ । आफूसँग सहमति नगरी माओवादीलगायत गठबन्धनका दललाई सरकारमा सहभागी गराएको भन्दै असन्तुष्ट बनेको एमालेले मन्त्री रानालाई सरकारबाट फिर्ता बोलाएको थियो ।