गण्डकी । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गण्डकी प्रदेश सरकारसहित यहाँका स्थानीय तह, सङ्घसंस्था र नागरिक तहबाटसमेत राहत सहयोगमा हातेमालो भइरहेको हो ।
भूकम्प गएको भोलिपल्टै गण्डकी प्रदेश सरकारले आपत्कालीन मानवीय सहायताका लागि चिकित्सकसहितको उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो । लगत्तै मन्त्रिपरिषद्को बैठक बसेर भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि एक करोड सहयोग गर्ने निर्णय गर्यो । पोखरा महानगरपालिकाले पनि घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।
दुई वडाध्यक्षको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी, नगरप्रहरीसहितको उद्धार टोली रुकुम पश्चिम र जाजरकोटमा खटिएको थियो । महानगरले भूकम्प प्रभावित क्षेत्रमा ५० लाखको सहयोगसमेत घोषणा गरेको छ । महानगरका जनप्रतिनिधिले एक महिना बराबरको पारिश्रमिक भूकम्पपीडितको राहत कोषमा प्रदान गर्ने निर्णय भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयाे ।
गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सदस्यले पनि भूकम्प प्रभावित क्षेत्रमा सहयोगको घोषणा गरेका छन् । नेपाली कांग्रेस संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यको १५ दिन बराबरको तलब भूकम्पपीडितको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले एक हप्ताको तलब उक्त कोषमा जम्मा गर्ने भएका छन् ।
बागलुङको बडिगाड र ताराखोला गाउँपालिकालगायतका स्थानीय तहले पनि भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रियता देखाए । जिल्लाबाट सबैभन्दा पहिला बडिगाड गाउँपालिकाले चिकित्सकसहित स्वास्थ्य सहायताका सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयाे। “विपद्का बेला सहयोग गर्नु मानवीय धर्म र कर्तव्य हो, हामीले त्यसैलाई सक्दोरुपमा निभाएका हौँ, भूकम्पपीडितको राहतमा सबैले हातेमालो गरौँ”, उहाँले भन्नुभयाे ।
भूकम्पपीडितलाई राहत वितरण
पोखरास्थित पब्लिक फोरके टेलिभिजनको पहलमा रुकुम पश्चिमका भूकम्पपीडितका लागि सङ्कलित राहत सामग्री शनिबार वितरण गरिएको छ । आठबिसकोट नगरपालिकाका एक सय भूकम्प प्रभावित परिवारका लागि प्याकेजसहितको राहत सामग्री प्रदान गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले बताउनुभयाे ।
“त्रिपाल, ओढ्ने, ओछ्याउने कपडा, खाद्यान्नलगायत झण्डै १० लाख बराबरको राहत सामग्री भूकम्पपीडित परिवारलाई वितरण गरेका छौँ”, उनले भने, “टेलिभिजनको पहलमा विभिन्न शुभेच्छुक सङ्घसंस्था र व्यक्तिबाट राहत सामग्री जुटाइएको हो ।”
भूकम्पबाट घरबारविहीन भएका परिवारको आहतमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले पोखरामा राहत सङ्कलन गरिएको प्रबन्ध निर्देशक क्षेत्रीले बताए । आठबिसकोटका एक सय परिवारलाई एक महिनासम्म खाना र बस्न सहज हुने गरी राहत सामग्री उपलब्ध गराइएको उनको भनाइ छ ।
राहत लिएर गएको टेलिभिजनका पत्रकारसहितको टोलीले भूकम्प प्रभावित क्षेत्रको स्थलगत रिर्पोटिङसमेत गरेको प्रबन्ध निर्देशक क्षेत्रीले बताउनुभयाे । उक्त राहत टोली शुक्रबार साँझ पोखराबाट रुकुम पश्चिम पुगेको थियो ।