काठमाडाैं । सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले लामो समयदेखि टिकटकविरुद्ध गुनासो आइरहेको भन्दै मन्त्रिपरिषद्को बैठकले त्यसबारे निर्णय लिएको बताउनुभयाे ।
“यो निर्णय आजैबाट कार्यान्वयनमा जान्छ। यसलाई रोक्ने व्यवस्था मिलाउन हामीले नेपाल टेलिकमलाई जिम्मा दिएका छौँ।” सरकारकाे प्रवक्तासमेत रहनु भएकी मन्त्री शर्माेले भन्नुभयाे ।
तिहारको समय चलिरहँदा नेपालमा ज्यादै लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लागेको हो।
मन्त्रिपरिषद्को निर्णयसँगै चिनियाँ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पछिल्लो मुलुक नेपाल बनेको छ। भारतमा यसअघिनै टिकटक चलाउन प्रतिबन्ध लागिसकेकाे छ।
मन्त्री शर्माले तिहारको समयमा प्रतिबन्ध लाग्नु संयोग मात्रै भएको बताउनुभयाे।
“यो पटकपटक क्याबिनेटमा छलफल भएको विषय हो। धेरै गुनासाहरू आएका थिए। समाजमा र परिवारमा बसेर हेर्न नसकिने किसिमका सामाग्रीहरू राखिए भन्ने कुरा थियो', प्रवक्ता शर्माले भन्नुभयाे, 'गृह मन्त्रालयले टिकटककै प्रतिनिधिलाई बोलाएर पनि त्यसबारे ध्यानाकर्षण गराएको थियो।' मन्त्री शर्माले मनोरञ्जनभन्दा समस्या धेरै भएकाले प्रतिबन्ध लगाइएको दाबी गर्नुभयाे।
उहाँले भन्नुभयाे, “मनोरञ्जनका लागि अरु सामाजिक सञ्जालहरू पनि छन्। फेसबुक, ट्विटरलगायतका माध्यमलाई हामीले केही पनि गरेका छैनौँ।”
टिकटकमै लाइभ बसेर महिनामा लाखाैँ कमाइ गरिरहेका कैयौँ प्रयाेगकर्ताले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि विराेध शुरू गरेका छन् ।