जनकपुरधाम । स–साना माटाका आर्कषक मुर्तिहरू बनाई मनाइने सामा चकेवा पर्वले मिथिलाञ्चलमा रमझम थपिएको छ । कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट शुरु भई १० दिनसम्म यो पर्व मिथिलाञ्चलकी चेलीबेटीले मनाउने गर्दछन् । कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न सुरिला गीतहरु गाएर सखी सहेलीहरुसँगै सामा चकेवा पर्व मनाइन्छ । मिथिलाञ्चल क्षेत्र धर्मले संस्कृतिको संरक्षणका लागि पहिलेदेखि नै चाडपर्वहरुको आड लिएको पाइन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा कुनै न कुनै पर्वको रमझम रहेकै हुन्छ ।
सामा चकेवामा श्रीमान श्रीमतीको सम्बन्धमा चुगली लगाउने चारुवक्र पात्र अर्थात चुगलाको जुगांलाई डढाउने गरिन्छ । दिदीबहिनी मिलेर आगो लगाई डढाउँदै घृणाले गीत गाउँछन् । यसका साथै आफ्नो भाइको पुरुषार्थको गीतकै माध्यमले प्रशंसा समेत गर्ने गर्दछन् ।
कार्तिक पूर्णिमाका दिन बहिनी आफ्नो भाइलाई निमन्त्रण दिन्छन् । भाइले घुँडामा राखेर सबै मूर्ती तोडछन् र ती मूर्तीहरुलाई जोतेको खेतमा विसर्जन गरिन्छ । बहिनीले भाइलाई च्युरा, दही, मिष्ठान्न, सख्खरको भोजन गराउँछन् । सामा चकेवा पर्वलाई भाइ बहिनी बीचको अगाध प्रेमको प्रतिकको रुपमा लिइन्छ । पछिल्लो समय समाजमा बढ्दै गइरहेको कटुताका बीच यो पर्वले प्रेमको सन्देश दिने गरेको मैथिलीका साहित्यकार एवं सञ्चारकर्मी श्यामसुन्दर शशी बताउनु हुन्छ ।
पछिल्लो समय मिथिलाञ्चलको लोक पर्वको रुपमा रहेको सामा चकेवा पर्व लोपोन्मुख अवस्थामा पुगेको छ । यस्ता लोक पर्वहरुलाई जगेर्ना गर्नसके मधेसको पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्ने भएकाले सामा चकेवा पर्वको संरक्षणतर्फ राज्यले समेत चासो देखाउनु आवश्यक रहेको शशीले बताउनुभयो ।
पद्म पुराणमा उल्लेख भएअनुसार सामाचकेवा पर्व मनाउनुको पछाडी एउटा छुट्टै कथा समेत रहेको छ । श्यामा र बृन्दावनका एक कुमार चारुवक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चुडक पनि श्यामालाई प्रेम गर्दछन् । तर श्यामाले अस्वीकार गरिदिँदा चुडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झुटा कुराहरु सुनाइदिन्छ ।
कृष्णले आफ्नी छोरी श्यामाको सतित्वमाथि सङ्का गरी चरी बन्ने श्राप दिन्छन् । चारुवक्य श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा चकेवीको रुपमा वृन्दावनमा बस्न थाल्दछन् । यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुवाक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गई तपस्या गर्न थाल्छन् । श्यामाले चरी बन्ने श्राप पाएपछि चुडकको नाम फेरेर चुगला राखी दिनुका साथै सबैले चुगलाको मुख झोस्ने छन् भनी दिएको श्रापबाट रिसाएर चुडकले वृन्दावन मै आगो लगाइदिन्छ । आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रुख ढल्दा चूडक किचिएर मर्छ । त्यसपछि भगवान विष्णु साम्वाप्रति खुशी भई श्यामा र चारुवक्यलाई पुनः मनुष्य बनाइदिन्छन् । यसरी सोही दिनदेखि सामा चकेवाको पर्व प्रचलित भएको मान्यता रही आएको छ ।