जाजरकाेट । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
अनेरास्ववियूले जाजरकोट तथा रुकुम पश्चिम जिल्लाका विभिन्न ७ विद्यालयका करिब एक हजार विद्यार्थीलाई अत्यावश्यकीय शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले साेमबार भूकम्प पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण कार्य उदघाट्न गर्नुभएको थियो।
भूकम्प प्रभावित विद्यालय पन्छाउन र नयाँ अस्थायी टहरा निर्माणका निम्ति जाजरकोट पुगेको अनेरास्ववियूको टोलीले प्रभावित विद्यार्थीहरुलाई न्यानो कपडा, झोला, कापि, कलम र पेन्सील लगायतका शैक्षिक सामग्री उपलब्ध गराएको हो ।
अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष आरती लामाले भूकम्पमा अभिभावक गुमाएका र विपन्न समुदायका विद्यार्थीका लागि राहत पुगोस् भन्ने उद्देश्यले यसरी सहयोग गरिएको बताउनुभयाे।
अध्यक्ष लामाले भन्नुभयाे, ‘भूकम्पका कारण शैक्षिक भविष्य जोखिममा परेका विद्यार्थीलाई सहयोग गर्ने मूल उद्देश्य बोकेर हामी यहाँ आएका हौँ । यिनै विद्यार्थीलाई सहयोग गर्न भनेरै हामीले राजधानीमा देउसी र भैलो आयोजना गरेका थियौं । देउसीबाट जुटेको रकमबाट भूकम्प प्रभावित बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा असाध्यै खुशी लागेको छ।’
अध्यक्ष लामाको नेतृत्वमा गएको टोलीले केही दिनदेखि भत्किएका घरहरु पन्छाउनेदेखि नयाँ अस्थायी टहरा निर्माण गर्ने लगायतका काम गरिरहेको सो संगठनका केन्द्रीय कार्यालय सदस्य मिलन राईले बताउनुभयाे ।
सदस्य राईका अनुसार अनेरास्ववियूले आफ्नो पार्टी एकीकृत समाजवादी जाजरकोट र रुकुम पश्चिम जिल्ला कमिटीका साथै स्थानीय प्रशासनसँगको समन्वयमा काम अघि बढाइरहेको छ।
अनेरास्ववियूकी अध्यक्ष आरती लामाका अनुसार अस्थायी आवास निर्माणमा जुटेको अनेरास्ववियूले सोमबारदेखि भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गर्न शुरू गरेकाे छ ।
'विद्यार्थीका बीच विद्यार्थी संगठन’ कार्यक्रम लिएर भूकम्प प्रभावित क्षेत्रमा खटिएकाे अनेरास्ववियू टाेलीले शैक्षिक तथा खेलकुदका सामग्री वितरण थालिएकाे अध्यक्ष लामाले बताउनुभयाे ।
‘शैक्षिक सामग्री र खेलकुद सामग्रीकासाथ साेमबारबाट अत्यन्त प्रभावित विद्यालयमा हामी ‘विद्यार्थीका बीच विद्यार्थी संगठन’ भन्ने भावनाका साथ पुग्दैछौ’ अध्यक्ष लामाकाे भनाइ छ ।
त्यस्तै, अध्यक्ष लामाले भूकम्पबाट प्रभावित विद्यालयका विद्यार्थीहरूलाई पठन पाठनको वातावरण र्सिजना गर्न सरकारसँग माग गर्नुभएको छ।
‘राज्यले पाठ्यपुस्तकसहित पढ्ने वातावरण यथाशीघ्र व्यवस्थापन गर्नको निम्ति हार्दिक अपिल गर्दछौ’, अध्यक्ष लामाले भन्नुभयाे ।