काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्मालम्बीको पवित्र स्थाल नमोबुद्धमा सोमबारदेखि सुरु भएको जात्रा सकिएको छ ।
कात्तिक शुक्ल पूर्णिमाको अघिल्लो रातदेखिनै सुरु भएको जात्राअन्तर्गत मेला भर्न गएका विशेष गरी तामाङ र नेवार समुदायका मानिसले आफ्नो पितृको सम्झानामा दुई दिन दुई रात दीप प्रज्ज्वलन गरेका छन् । काभ्रेपलाञ्चोकको उक्त ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्दै आएको छ ।
कात्तिक शुक्ल पूर्णिमा तिथिका दिन शान्तिका प्रतीक गौतमबुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनका रुपमा मान्दै आइएको छ । किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि जो, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको स्थान हो ।
उक्त किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गरेको हो । मेलामा बर्सेनि करिब एक लाखले नमोबुद्धको दर्शन–पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनायो । जात्रा–मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेको उत्तिकै भीड लागेको थियो ।
नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्ती प्रज्ज्वलन गरिएको हो । “यहाँ बर्सेनि पितृलाई बत्ती बाल्ने परम्परा रहँदै आएको छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यता पनि छ”, लामाले भन्नुभयो। नमोबुद्धका मूल लामागुरु कान्छा लामाका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छट्पटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गर्नुभएको थियो ।
सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो । “पाँच डमरु जन्माएका बघिनी लक्ष्मी मानिएको हो भने, पाँच डमरु भिक्षु भएका थिए”, लामागुरु लामाले भन्नुभयो । उहाँका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताउनुभएको थियो । तत्पश्चात् राजारानी शङ्खेश्वरी अजिअजिमाको नामले चिनिँदै आउनुभएको लामागुरुले बताउनुभयो ।
नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गरेको स्थानीय समाजसेवी राकेश लामाले बताउनुभयो । उहाँका अनुसार मेलामा यस वर्ष छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडाैं, धादिङ, नुवाकोटलगायतबाट सहभागिता रहेको थियो । नमोबुद्धबाट ऐतिहासिक पनौतीलगायतका हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिम शृङ्खला र पहाडी मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् ।