काठमाडौं । भूकम्पपीडितका लागि राहत सामग्री र स्वास्थ्य शिविरसहित डा. कर्ट (दिलजान मनसुर) जाजरकोट पुग्नुभएको छ।
भूकम्पले घर भत्काएपछि त्रिपालमुनिको चिसो भुइँमा बस्न बाध्य पीडितहरुका लागि सिरक, नि:शुल्क औषधि तथा उपचारका सामग्रीसहित तीन दिने स्वास्थ्य शिविर लिएर उहाँ जाजरकोट पुग्नुभएको हो।
काठमाडौंस्थित फुड डाइबिटिज हार्ट क्लिनिक (एफडीएच क्लिनिक) एण्ड रिसर्च सेन्टरको आयोजना तथा जाजरकोटको जुनीचाँदे गाउँपालिकाको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जनाइएको छ।
एफडीएच क्लिनिकले दिएको जानकारी अनुसार जुनीचाँदे गाउँपालिका–२ का एक सय सत्तरी घरपरिवारका लागि राहतस्वरुप सिरक वितरण गरिएको छ।
चिसोका कारण मुख्य गरी रूघाखाेकी, ज्वराेलगायत छातीकाे समस्या देखिएकाे डा. कर्टले बताउनुभयाे ।बालबालिका, वृद्ध तथा गर्भवती बढी प्रभावित भएकाे तथा चिसो भुइँका कारण बालबालिकामा निमोनियाको समेत समस्या देखिएको उहाँको भनाइ छ।
डा. कर्टले दिउँसाेकाे समयमा शिविरमार्फत् स्वास्थ्य जाँच तथा उपचार गरे पनि रातिकाे समयमा शिशु, बालबालिका, गर्भवती, काखमा बच्चा भएका महिला तथा जेष्ठ नागरिककाे जाँच तथा उपचारका लागि हरेक त्रिपालमा पुग्ने गर्नुभएकाे स्थानीयले जनतासमाचारलाई बताएका छन्।
डा. कर्ट 'फुड डाइबिटिज हार्ट क्लिनिक एण्ड रिसर्च सेन्टर'का संस्थापक तथा कार्यकारी प्रमुख हुनुहुन्छ।