ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पुकार पत्रिकामार्फत कांग्रेसका गतिविधि जनतासम्म पुग्ने बताउनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा केन्द्रीय कार्यालयमा आयोजित पत्रिका लोकार्पणका अवसरमा सभापति देउवाले जनताले सो पत्रिकामार्फत कांग्रेसबारे जानकारी हासिल गर्न सक्ने बताउनुभयो।
“नेपाल पुकार जनतामा लोकप्रिय हुनेछ भन्ने विश्वास छ । यो पत्रिका पढ्नेले नेपाली कांग्रेसबारे जानकारी प्राप्त गरी कांग्रेसबारेमा आफ्नो धारणा बनाउने छन् । यसले पार्टीका गतिविधिहरु जनतासमक्ष पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, सभापति देउवाले भन्नुभयो ।
त्यस अवसरमा पार्टी उपसभापति तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अहिले नेपालमा सुशासनको राजनीतिको खडेरी परेको अवस्थामा नेपाल पुकारको नयाँ अङ्क सुशासन विशेषाङ्कका रुपमा आउनुपर्ने धारणा राख्नुभयो । “अहिले सुशासनको राजनीतिको खडेरी परेको अवस्था छ । यो अवस्था सुशासनका बिषयमा केन्द्रित रहेर अर्को अङ्क आउनुपर्छ । चुनावमा जिताइ देउ भन्ने मात्रै हाम्रो मिसन होइन, सुशासन पनि हाम्रो मिसन हो। यसका लागि हामीले संस्कार र राजनीति प्रवृत्तिमा बदल्न आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले गरिबी, रोग, भोक र अशिक्षा हाम्रो प्रमुख शत्रु हो भन्ने आधारमा अगाडि बढ्नुपर्छ भन्दै नेपाली राजनीतिलाई सुदृढीकरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
कांग्रेस महामन्त्री गगन थापाले कुशासनले नागरिक आजित भएको भन्दै नेपाल पुकारले यसका पात्र, प्रवृत्ति र घटनाको चित्रण गर्दै जनतामा सही सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
“नेपाली कांग्रेस समुन्नतिबारे जनतामा जानकारी प्रवाह गर्न चाहन्छ। नेपाली कांग्रेसले गरेका हरेक काम जनतामा पु¥याउन पत्रिकाले महत्वपूर्ण काम गर्ने छ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो, “हामीले यो पत्रिका पार्टीको स्रोतबाट विज्ञापन नराखेरै चलाउन चाहेका छौँ। यसले सार्थकता पाउन नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ।”
पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेसको वैचारिक सन्देश प्रवाह गर्न यस पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास राख्नुभयो। पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रचारप्रसार विभागका पूर्वप्रमुख मीनेन्द्र रिजाल, नगरपालिका महासङ्घका तर्फबाट निलकण्ठ नगरपालिका धादिङका प्रमुख भीम ढुङ्गाना, प्राध्यापक पुरुषोत्तम दाहाललगायतले सो अवसरमा धारणा राख्नुभएको थियो।