काठमाडौं । जन्मदिनमा वृक्षारोपण अभियान, नेपालका अध्यक्ष बासुदेव सेढाईँले जलवायू परिवर्तनको असर न्यूनीकरण गर्नका लागि जन्मदिनमा वृक्षारोपण अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।
अभियानको पाँचौँ वार्षिकोत्सवको अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित चेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सेढाईँले हरेक व्यक्तिले आफ्नो जन्मदिनमा न्यूनत्तम एउटा विरुवा रोपेर संरक्षण गर्दा जलवायू परिवर्तनको नकारात्मक असर कम हुँदै जाने बताउनुभएको हो ।
अध्यक्ष सेढाईँले अभियान सञ्चालन गर्नुको मुख्य उद्देश्य जलवायू परिवर्तनका असर न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नु रहेको बताउनुभयो
त्यस्तै, जन्मदिन मनाइने नेपालको मौलिक संस्कारप्रति आधुनिक भनिने विदेशी संस्कारले गलत प्रभाव पारेकाले वृक्षरोपण अभियानमार्फत् नेपाली संस्कृतिको रक्षा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
हाल यो अभियान ६ सय भन्दा बढी अभियान्ताहरुले ६० जिल्लामा अभियान सञ्चालन गरिरहेको अध्यक्ष सेढाईँले जानकारी दिनुभयो। काठमाडौं र बुटवलमा संयोजकमार्फत् अभियान शुरु गरिएको उहाँकाे भनाइ छ। त्यस्तै, भारत, अमेरिका, अष्ट्रेलियालगायतका देशमासमेत अभियान सञ्चालन भइरहेको अध्यक्ष सेढाईले जानकारी दिनुभयाे ।
त्यस्तै, उहाँले वृक्षारोपण अभियानलाई आर्थिक समृद्धिसँग जोडेर ‘एक पालिका, एक नर्सरी’को अवधारणा अघि बढाइएको बताउनुभयो । केही पालिकामा नर्सरी सञ्चालन शुरु भइसकेको र उक्त नर्सरीमार्फत् जन्मदिनमा बिरवा लिएर वृक्षारोपण गर्न सकिने उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त उपकुलपति विमल निभा (विमलकृष्ण श्रेष्ठ) ले अभियानलाई साहित्य र सिर्जनासँग जाेडेर देशव्यापी बनाउनु पर्नेमा जाेड दिनुभएकाे थियाे ।
त्यस्तै, संस्थामा आवद्ध रही विशेष भूमिका निर्वाह गर्ने विभिन्न व्यक्ति, सञ्चारकर्मीलगायतलाई कदर पत्रले सम्मान गरिएकाे थियाे ।
'जन्मदिनमा वृक्षारोपण अभियान' परिकल्पनाकार बासुदेव सेढाईँको अध्यक्षतामा २०७५ मंसिर २९ गते संस्थाको स्थापना भएको थियो ।