काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै सहकारी संस्था खराब नरहेको बताउनुभएको छ । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको २४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले पछिल्लो समय केही सहकारी सङ्घ संस्थाका विकृति विसङ्गति समाचार माध्यममा आइरहे पनि सबै सहकारी खराब नरहेको बताउनुभयो ।
कालिमाटी तरकारी बजारका व्यवसायीले सञ्चालन गरेको तरकारी फलफूल साकोसबारे आफू राम्रो जानकार रहेको भन्दै उपसभामुख रानाले उक्त सहकारी सुशासनमा सञ्चालन भइरहेको आफूले पाएको बताउनुभयो । उहाँले तरकारी बजारका व्यवसायीसँग कोभिड–१९ का बेला दुई वर्षसम्म सहकार्य गर्ने अवसर पाएको स्मरण गर्दै सहकारीले पनि आफ्ना शेयर सदस्यलाई धेरै किसिमका सेवा दिएको आफूले पाएको चर्चा गर्नुभयो ।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले तरकारी फलफूल साकोस सुशासनमा चलेको आफूले पाएको बताउनुभयो । सहकारीका सूचकाङ्कहरुको अध्ययन गर्दा यसले आफ्ना शेयर सदस्यलाई केन्द्रमा राखेर धेरै सिर्जनशील काम गरेको, शेयर सदस्यको आर्थिक विकासमा टेवा पुर्याएको आफूले पाएको उहाँको भनाइ थियो ।
सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेले तरकारी फलफूल साकोसको आर्थिक विवरण हेर्दा सुशासनमा सञ्चालन भइरहेको आफूले पाएको बताउनुभयो । सञ्चालक समितिका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उक्त सहकारी संस्था स्थापनामा उल्लेख्य भूमिका निर्वाह गरेका सहकारी विभागका पूर्वरजिस्ट्रार केशवबहादुर थापा र वरिष्ठ बजारविज्ञ उद्धव ढुङ्गानालाई सम्मान गरिएको थियो ।
यसैगरी, सहकारी संस्थाका शेयर सदस्यका छोराछोरीमध्येबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको थियो । नियमित बचतकर्ता, असल ऋणी र उत्कृष्ट कर्मचारी सम्मानसमेत प्रदान गरिएको व्यवस्थापक सृष्टि श्रेष्ठले जानकारी दिनुभयो ।
साकोसले लाभांश दिने
तरकारी फलफूल साकोसले १५.५ प्रतिशत लाभांश दिने निर्णय पारित भएको सहकारी संस्थाका सचिव हरिकृष्ण थेकेले जानकारी दिनुभयो । विसं २०५६ माघ २१ गते ३० जना सदस्यले ३१ हजार नौ सय शेयरपुँजी जम्मा गरी सुरु भएको सहकारीमा हाल दुई हजार चार सयभन्दा बढी शेयर सदस्य रहेका छन् ।
आर्थिक वर्ष २०७३/७४ मा यस संस्थाको शेयर पुँजी चार करोड २६ लाख छ सय रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा शेयर पुँजी रकम वृद्धि भई छ करोड ९५ लाख पाँच हजार तीन सय पुगेको छ ।
आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा शेयर सदस्य बचत रकम ४४ करोड ६५ लाख ३२ हजार तीन सय ३४ पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा आउँदा ४६ करोड एक लाख ९८ हजार आठ सय ४२ ऋण लगानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा तीन करोड ५४ लाख छ हजार दुई सय ५४ सञ्चालन मुनाफा पुगेको संस्थाले जनाएको छ ।