जनकपुरधाम । पहिचानका आधारमा प्रदेशको नाम मधेस र प्रदेश राजधानी जनकपुर तोकिएको दिनको अवसरमा मधेस प्रदेश सरकारले पहिलो पटक ‘मधेस स्वाभिमान दिवस’ मनाइको छ ।
प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा विशेष कार्यक्रमसहित ‘मधेस स्वाभिमान दिवस–२०८०’ मनाइएको हो । त्यसअवसरमा वक्ताले पहिचान र सामथ्र्यका आधारमा प्रदेशको सीमाङ्कन तथा नामाङ्कन गरिने सिद्धान्तअनुरुप सात प्रदेशमध्ये मधेस प्रदेश मात्रै पहिचानका आधारमा स्थापित गर्न सकिएको भन्दै यो मधेसका लागि स्वाभिमानको विषय भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले तत्कालीन राजनीतिक दल र उच्चस्तरीय राज्य पुनःसंरचना आयोगको सिफारिसअनुसार पहिचानका आधारमा प्रदेश नामकरण गरिएको र सबैका लागि गौरवको विषय भएको बताउनुभयो । अध्यक्ष यादवले अब समान अधिकार, समान अवसर र समान न्यायका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“हामीले विगतमा गरेका आन्दोलन र बलिदानीका सबै उद्देश्यहरु पूरा हुन सकेनन् । मधेसमा भएको बलिदानीकै जगमा सङ्घीयता र पहिचानका आधारमा नाम राख्न सफल भएका छौँ”, यादवले भन्नुभयो, “अब प्रदेश सरकारले सुशासन र सामाजिक न्यायका माध्यमबाट स्वाभिमान बचाएर समृद्ध प्रदेश निर्माणमा लाग्नुपर्छ । मधेसका आठ जिल्ला मात्रै होइन, समग्र मधेसवासीको मुक्ति र परिवर्तनका पक्षमा काम गरौँ । यसमा प्रदेश सरकारको विशेष भूमिका छ । त्यसमा प्रदेश सरकार खरो उत्रिनसक्नुपर्छ ।”
त्यस अवसरमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस आन्दोलनको जगमा स्थापित सङ्घीयता र पहिचानका आधारमा स्थापित मधेस प्रदेशको भावनाअनुसार सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले सङ्घीयतालाई कमजोर र प्रदेश सरकारलाई अधिकारविहीन बनाउने काम भइरहेको भन्दै मधेसले सबै प्रदेशलाई साथमा लिएर त्यसविरुद्ध आवाज उठाइहरेको बताउनुभयो ।
मधेस प्रदेश सरकारका पूर्वमुख्यमन्त्री लालबाबु राउतले आफू नेतृत्वको तत्कालीन सरकारले सबै पार्टीलाई साथमा लिएर मधेस प्रदेश नामकरण गर्न सफल भएको भन्दै त्यही एकतालाई कायम गर्दै प्रदेशलाई बलियो बनाउन लाग्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै नेपाली कांग्रेस मधेस प्रदेश सभापति एवं भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव, नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपाने, प्रदेश सरकारका अर्थमन्त्री सञ्जय यादव, गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समीम, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवलगायतले मधेस प्रदेशको स्वाभिमानका लागि आफूहरू एकजुट भएर काममा लागिरहेको बताउनुभयो । उहाँहरूले पार्टीभन्दा माथि उठेर सङ्घीयता, मधेस र मधेसी जनताको हितमा काम गर्न तयार रहेकोसमेत बताउनुभयो ।
विसं २०७८ माघ ३ गते प्रदेशको नामकरण ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ पारित भएको थियो ।