काभ्रेपलाञ्चोक । पनौतीमा ‘१४औं नेवाः एकता दिवस’ सम्पन्न भएको छ । नेवाः देय् दबूको संयोजनमा नेवार समुदायलाई एकताबद्ध बनाइ भाषा, संस्कृति र भूमिलगायतको संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमका साथ दिवस मनाइएको हाे ।
उपत्यका बाहिर पहिलोपटक मनाएको दिवसका अवसरमा पनौतीको ध्वाखा फःबाट सांस्कृतिक झाँकी बाजागाजासहित नगर परिक्रमा गरेर लायकु डबलीमा पुगेर सभामा परिणत भएको थियो ।
त्यस अवसरमा बागमती प्रदेशका प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादेले नेवाः एकताको महत्वलाई बुझेर वेवाःहरू एकजुट भइ नेवाः सभ्यता बचाउन लाग्नु अपरिहार्य भएको बताउनुभयो । “नेवाःहरूको भाषा, कला, सभ्यता, संस्कृति र सम्पदा रहिरहे मात्र नेवाःहरूको अस्तित्व रहन्छ”, उहाँले भन्नुभयो ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पनौती नगर विश्व सम्पदा सूचीमा सूचिकरण गर्ने पहल भइरहेको बताउँदै ऐतिहासिक नगर पनौतीमा नेवाः राष्ट्रिय एकता दिवस मनाउने कार्यले अझ थप बल पुग्ने र त्यसको महत्वसमेत बढ्ने बताउनुभयो ।
नेवा देय् दबूका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता सुरेश सैंजुले नेवाः एकता दिवसको औचित्य अझ बढ्दै गएको बताउनुभयो । पनौती नगरको ऐतिहासिक महत्वको चर्चा गर्दै उहाँले बाह्रवर्षे मकर मेला, भूकम्प नजाने शहरदेखि देव इन्द्रले तपस्या गरेको तपोभूमि रहेको पनौतीको विषयमा चर्चा गर्नुभएको थियो ।
नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले उपत्यकामा मात्रै सीमित रहेको दिवसलाई अन्यत्रका नेवार समुदायको बस्तिसम्म पुगेर कार्यक्रम गर्नुले नेवाः एकतामा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।