जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नलाई तत्काल पत्ता लगाउन प्रहरी समक्ष आग्रह गर्नुभएको छ ।
जनकपुरधाममा बिहीबार राति अज्ञात समूहको आक्रमणमा परी घाइते हुनुभएका अध्यक्ष यादवको अवस्थाबारे जानकारी लिएपछि नेता निधिले मधेस प्रदेश प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु रेग्मीलाई सम्पर्क गरी घटनालाई गम्भीररूपमा लिई तत्काल सत्यतथ्य पत्ता लगाउन आग्रह गर्नुभयो ।
प्रादेशिक राजधानीमै जनप्रतिनिधिमाथि आक्रमण हुनु र घटनास्थलमा प्रहरीको तत्काल उपस्थिति नहुनु चिन्ताको विषय भएको भन्दै नेता निधिले आफ्नो कामको सिलसिलामा निर्धक्क हिँडडुल गर्न चुस्त शान्ति, सुरक्षाको व्यवस्थाका लागि पनि प्रहरीको ध्यानाकर्षण गराउनुभयो ।
भेटघाटका क्रममा अध्यक्ष यादवले बिहीबार राति अस्पतालमा रहेका बिरामी आफन्तलाई भेटेर घर फर्किने क्रममा वडा नं ७ स्थित तपसीचोक नजिक आफूलाई घेरा हालेर आक्रमण गरिएको बताउनुभएको थियो । आफ्नो परिचय खुलाउँदा पनि मरणासन्न हुनेगरी आक्रमण गरेकाले घटना नियोजितरूपमा भएको देखिन आएको र त्यसबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले तदारुकताका साथ काम गर्नुपर्ने अध्यक्ष यादवको भनाइ थियो ।
“मलाई रेकी गरेर आक्रमण गरिएको छ । तर आक्रमण किन र केका लागि गरियो भन्नेबारेमा अनुमान गर्न सकिरहेको छैन । त्यसकारण प्रहरीले सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गरोस्”, अध्यक्ष यादवले भन्नुभयो ।
धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेग्मीले घटनाबारे जानकारी पाएलगत्तैदेखि प्रहरीले अनुसन्धान सुरु गरिसकेको जानकारी दिनुभयो । रातिको समयमा घटना घटेको र अध्यक्ष यादवले समेत आक्रमणकारी कसैलाई नचिनेका कारण धेरै कुरा ठम्याउन कठिन भए पनि आफूहरूले उच्च प्राथमिकताका साथ घटनाबारे अनुसन्धान गर्ने र दोषीलाई उम्किन नदिने उहाँको भनाइ थियो । आक्रमणबाट अध्यक्ष यादवको हातको एउटा औँला भाचिएको छ भने शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । हाल उहाँको अवस्था सामान्य छ ।