काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुनेगरी योजना निर्माण गर्ने आश गर्न नसकिने बताउनुभएको छ ।
उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने,विगतका अनुभवहरुको जगमा उभिएर योजनावद्ध प्रयासलाई सार्थक रुपमा गति दिनेगरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताउनुभएको हो ।
उहाँले वर्तमान सरकारको मातहतमा बनेको योजना आयोगले अघिल्लो सरकारले बनाएको १५ औं योजनालाई उपेक्षा गर्नेगरी योजना निर्माण गरिरहेको आरोप लगाउनुभयो । उपाध्यक्ष पौडेलले योजना आयोग १६ औं योजनाको निर्माणमा अलमलिरहेको बताउनुभयो ।
उहाँले १६ औं योजना निर्माण गर्दा अहिलेसम्म योजनावद्ध विकासका अभ्यास, प्रयासहरु र तिनले दिएका अनुभवहरुको जगमा उभिएर वर्तमान र दीर्घकालिन आवश्यकतालाई सम्बोधन गरी योजना निर्माणको काममा सरकार लाग्नुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग अलमलिरहेको दाबी गर्नुभयो ।
योजना आयोग आगामी १६ औं योजना बनाउने विषयमा कुहिरोभित्रको काग जस्तै भइरहेको टिप्पणी गर्नुभयो । नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको १५ औं योजना धेरै दृष्टिकोणले महत्वपूर्ण रहेको पौडलको भनाइ छ । उहाँले १५ औं योजनाले नेपालको योजनावद्ध विकासमा डिपाचर हुने गरी नयाँ दिशाबोध दिएर विकासका परम्परागत अभ्यासहरुलाई ब्रेक थु्र गरेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकारले १६ औं योजना निर्माण गरिरहँदा १५ औं योजनाले संस्थागत गरेका निस्कर्षहरुलाई आत्मासाथ गर्ने र आवश्यक विषयलाई निरन्तरता दिने भन्दा पनि तिरस्कार र उपेक्षा गर्नेगरी अगाडि बढेको पाइएको दाबी गर्नुभयो । योजना आयोग १५ औं योजनाका सकारात्मक योगदानहरुलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको आरोप पौडेलको छ । १५ औं योजनाले राष्ट्रिय दीर्घकालिन र आवधिक लक्ष्य निश्चित गर्नेगरी लिएको समृद्ध नेपाल सुखी नेपाली दीर्घकालिन लक्ष्यलाई हटाइएको भन्दै असन्तुष्टि जनाउनुभयो ।
पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले योजना आयोगको १६ औं योजना निर्माणको तयारी गतिलो योजना आउने अवस्था नदेखिएको उल्लेख गर्नुभयो । उहाँले १६ औं योजनाले संविधानले नागरिकलाई प्रदान गरेका अधिकारलाई व्यवहारिक रुपमा उपलब्ध कसरी गराउने भन्ने विषयमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । योजना आयोग १५ औं योजनालाई अस्वीकार गर्ने तर अहिलेको अवस्थाअनुसार नयाँ योजना दिन पनि नसक्ने दुविधामा १६ औं योजनाको तयारी गरिरहेको पौडेलको भनाई छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले १५ औं योजनाले अघि सारेका योजनाहरुलाई निरन्तरता दिँदै थप आवश्यकताहरुलाई पहिचान गरेर आयोगले योजना निर्माण गरिनु पर्ने बताउनुभयोे । उहाँले सरकारले १५ औं योजनाप्रति पूर्वाआग्रह राखेर १६ औं योजना बनाउन नहुने जिकिर गर्नुभयो ।
उपाध्यक्ष पौडेलले समृद्धि नेपाल सुखी नेपालीको नारा एमालेको सरकारले ल्याएपनि समग्र नेपालीको साझा नारा भएको दाबी गर्नुभयो । उहाँले समृद्धि नेपाल सुखी नेपालीको नारामा कसैले विमती राख्नुपर्ने विषय नभएको बताउनुभयो। उहाँले अहिलेको सरकार र योजना आयोग समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई करेक्शन गर्न चाहेको दाबी गर्नुभयो । उहाँले १६ औं योजनामा मानवीय विकासका आवश्यकताका विषयमा बढी ध्यान दिन सुझाव दिनुभयो । उहाँले १६ औं योजनाले शिक्षालाई मुलुकको आवश्यकताअनुसार बनाउने गरी योजना निर्माण गरी सीप विकास,रोजगारी र आत्मनिर्भरताको विकास गर्नेमा केन्द्रित हुनुपर्ने बताउनु भयो। उहाँले विद्यार्थीले देशभित्र गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भन्ने विषयमा विश्वासको आधार निर्माण गर्नेमा योजना केन्द्रित हुनुपर्ने बताउनुभयो ।