काठमाडाैं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला २०७२ चैतमा चीनसँग भएको पारवाहन सम्झौता कार्यान्वयनमा आएको छ । नेपाल–चीन पारवाहन सम्झौता गरेर ठूलो उपलब्धी भएको भनिए पनि सम्झौता भएको ८ वर्षसम्म कार्यान्वय हुन सकेको थिएन ।
नेपालले चीनसँग पारवाहन सम्झौतामा यातायात तथा पारवहन प्रोटोकलमा हस्ताक्षर गरे पनि सुविधा लिन नसकेको भन्दै आलोचना हुँदै आएको थियो । तर बिहीवार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल चीन पारवहन यातायात सम्झौता कार्यान्वयनको पहिलो निर्यातको शुभारम्भ भएको छ ।
नेपालका लागि चिनियाँ राजदुत चेन सोङ र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले संयुक्त रुपमा शुरुवात गर्नुभएको हो । उहाँहरुले नेपालबाट चीन हुँदै तेस्रो मुलुक जापानमा पठाउन लागिएको सामानको रिवन काटेर शुभारम्भ गर्नुभयो ।
नेपाल भूपरिवेष्ठित मुलुक भएकाले भारतको कोलकत्ता बन्दरगाह प्रयोग गर्दै तेस्रो देशमा नेपाली वस्तुहरु निर्यात गर्ने गरिएको थियो तर अब चीन हुँदै तेस्रो मुलुकसँग सामान आयात निर्यात गर्न सामुन्द्रिक किनारसम्म पहुँच पाएको छ । नेपालको अहिलेसम्म भारतीय भूमि प्रयोग नगरी समुन्द्रसम्म पहुँच थिएन तर अब चीनसँगको पारवहन सम्झौता कार्यान्वयन आएसँगै नेपालले भारतको समुन्द्रिक पहुँच कुरिराख्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले चीनसँगको पारवहन तथा यातायात प्रोटोकलमा हस्ताक्षर पछि कार्यान्वयमा आउनु नेपालको वैदेशिक व्यापारको लागि कोशेढुङ्गा भएको बताउनुभयो ।
नेपाल—चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले ८ वर्षअघि चीन सरकारसँग भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको बताउनुभयो । उहाँले पारवहन सम्झौता कार्यान्वयन भएसँगै चीनको समुन्द्र हुँदै पहिलो पटक जापान निर्यात शुरु भएको बताउनुभयो ।
नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले भारतको भारतको कोलकत्ता बन्दरगाह प्रयोग गर्दै तेस्रो देशमा नेपाली वस्तुहरु निर्यात गर्दै आएको अब चीनको बन्दरगाह प्रयोग गरेर वस्तु निर्यातको बाटो खुलेको बताउनुभयो । उहाँले चीनसँगको पारवहन सम्झौता कार्यान्वयनसँगै नेपाल ल्याण्ड लक भन्दा पनि ल्याण्ड लिक देशमा स्तर उन्नति भएको बताउनुभयो ।
सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले निर्यात खुलेर एक पटक खुशीयाली बनाउने तर बीचमा बन्द हुने गरी काम गर्न नहुने बताउनुभयो । उहाँले चीन हुँदै नेपालबाट तेस्रो मुलुकमा नेपाल वस्तु निर्यातको बाटो दीर्घकालिन रुपमा जान आवश्यक रहेको बताउनुभयो ।
शुक्रबार तातोपानी नाकाबाट चीन हुँदै जापानको लागि विभिन्ने नेपाली चाउचाउ लगायतका सामाग्रीहरु निर्यात हुनेछन् । पारवाहन सम्झौता भएको चार वर्षपछि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको थियो।