काठमाडाैं । नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बिहीबार बैंकले काठमाडौंका शुभारम्भ गर्दै वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको हो ।
बैंकले स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवार लक्षित १० करोड रूपैयाँसम्मको कर्जा सुविधा ल्याएको छ । बैंकले न्युनतम १५ लाख रूपैयाँदेखि १० करोड रूपैयाँसम्मका सुविधा र विभिन्न चरणमा विभाजन गरी कर्जाको सीमा समेत तोकेको छ ।
बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रूपैयाँको कर्जा समेत प्रदान गर्नेछ । नबिल बैंकले लगानी थप गरी उद्योग बिस्तार गर्न चाहनेलाई १५ लाख रूपैयाँदेखि १ करोड रूपैयाँसम्म कर्जा दिने योजना ल्याएको हो ।
बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहज बनाउन बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना अभियान चलाएको बताउनुभयो । उहाँले विदेशबाट नेपालीहरुले धेरै प्रकारका सीप,पुँजी लिएर आएकाले उनीहरुलाई रोजगारी र उद्यमशिलतामा ल्याउन सके देशको आर्थिक अवस्था माथि उठ्नसक्ने बताउनुभयो ।
बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वैदेशिक रोजगारीमा गएर नेपाल आएका नेपालीहरूलाई १५ देखि १० करोडसम्मको सहुलियतपूर्ण कर्जा दिने योजना ल्याएको बताउनुभयो ।
बैंकले ल्याएको योजनाले सञ्चालनमा रहेका उद्योगलाई थप लगानी गरी व्यवसाय अगाडि बढाउनेलाई १ करोडदेखि ५ करोड रूपैयाँसम्म सुविधा बैंकले दिने भएको छ । उक्त कर्जा व्यापार बढाउने र नयाँ प्रविधि प्रयोग गरेर बजारमा जाने योजना रहेका नेपालीलाई प्रदान गर्नेछ । सञ्चालन गर्दै आएका व्यवसायलाई बजारमा ठूलो क्षमतामा अगाडि बढाउने योजना बनाएका युवाहरूलाई बैंकले १० करोड रूपैयाँसम्म कर्जा दिनेछ । कर्जाका लागि नागरिकतासहित कोल्याट्रलको आवश्यक पर्नेछ ।
बैंकले कर्जामा १.५ प्रतिशत ब्याजदर कायम गरेको छ । कर्जा प्राप्तका लागि धितोको रूपमा व्यक्तिगत ग्यारेन्टी र जग्गा तथा आफूसँग भएको सम्पत्ति राख्न सकिने बैंकले जनाएको छ ।