काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताउनुभएको छ । शुक्रवारबाट शुरु भएको तीन दिने कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको बताउँदै उहाँले नेपालले कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने बेला भइसकेको भन्दै सरकारले कृषि उत्पादनलाई अझ बढाउने गरी काम गरिरहेको बताउनुभयो ।
उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च घटाउनुपर्नेमा जाेड दिँदै मन्त्री भुसालले कृषिमा अबका दिन यान्त्रीकरणको महत्व बढ्दै गइरहेको बताउनुभयो ।
शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १४ गते आइतवारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहेका छन् ।
विशेष गरी कृषिसम्बन्धी भारत र चीनका कम्पनीहरुको स्टल मेला रहेको छ । प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।