काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणामाथि आक्रोशित बन्नुभएको छ ।
सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक थियो । बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूचि रहेको थियो । सोही अनुरुप संशोधनकर्ता सांसदहरुलाई बोलाइएको थियो भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल समेत उपस्थित हुनुहुन्थ्यो ।
आफ्नो संशोधन राखिरहेको बेलामा समिति सभापति आरजु राणाले ‘पोइन्ट टु द पोइन्ट गरिदिनुस्’ भनेर सांसद सुवाललाई आग्रह गर्नासाथ सांसद सुवाल सभापतिमाथि खनिनुभएको हो ।
सभापतिले त्यसो भन्नासाथ सांसद सुवालले ‘तपाईहरुलाई घोचेको कुरा मन पर्दैन, तपाईहरुलाई त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि’ भनि प्रतिवाद गर्नुभएको थियो । उहाँले सभापति राणालाई बिपी कोईरालालाई बिपी प्रतिष्ठानमा बेचेको र भ्रष्टाचारको अखडा बनाएको पनि आरोप लगाउनुभयो । उहाँले सभापतिलाई ठूलो कुरा नगर्न भन्दै कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको हो भन्ने कुरापनि आफूहरुलाई सबै थाहा भएको बताउनुभएको थियो ।
आक्रोशित हुँदै टेबल ठोकेका सांसद सुवाल सभापतिसँगको केही बेरको सवालजवाफपछि शान्त हुँदै पुनः आफ्नो संशोधनका बुँदा राख्नुभएको थियो ।
यस्तो छ सभापति राणा र सांसद सुवाल बीचको सवाल–जवाफ :
आरजु राणाः पोइन्ट टु द पोइन्ट गरिदिनुस् ।
प्रेम सुवाल :पोइन्ट नै हो । तपाईहरुलाई घोचेपछि पोइन्टमा पर्दैन । सबै थाहा छ सभापतिज्यु । तपाईहरुलाई घोचेको कुरा मन पर्दैन सबै थाहा छ हामीलाई । तपाईहरु त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि । गरिब जनताको किन सुन्नुपर्छ ? सबै थाहा छ हामीलाई । प्रजातान्त्रिक समाजवाद पनि थाहा छ । नाटक नै नाटक त हो नि । बिपी कोईरालालाई त तपाईहरुले बिपी प्रतिष्ठानमै बेच्नुभयो नि । भ्रष्टाचारको अखडा सबै थाहा छ हामीलाई । सभापतिज्युले ठूलो कुरा गर्नुपर्दैन । कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको सबै थाहा छ हामीलाई ।
उद्योगमन्त्री : त्यतातिर नजाऔँ माननीयज्यु ।
प्रेम सुवाल : किन नजाने ? किन रोक्नुभयो ? म बोल्दिन के(टेबल ठटाउँदै) उभिएर र पुनः टेबल ठटाए ।
आरजु राणा :रोकेको होइन । रोकेको होइन । प्लिज टु द पोइन्ट गरिदिनुहोस् भनेको हो के । प्लिज बस्नुस् माननीयज्यु । बस्नुस् । आफ्नो पोइन्ट राखेर जानुस् ।
प्रेम सुवाल : तपाईलाई घोचेपछि रोक्ने ? किन रोक्नुभयो ?
आरजु राणा : दुई, तीन वटा बाँकी छ अब । तपाईले गरेर जानुस् । मन्त्रीज्यु कुरिरहनुभएको छ ।
प्रेम सुवाल : त्यसरी रोक्न पाइँदैन । पक्षपात गर्न पाइँदैन ।
आरजु राणा : रोकेको होइन । पक्षपात गरेको होइन ।
प्रेम सुवाल : किन होइन ?
आरजु राणा : पक्षपात गरेको होइन । सिध्याएर जानुस् आफ्नो कुरा । व्याख्या धेरै नगर्नुस् मात्रै भनेको ।
प्रेम सुवाल : (बस्दै) तपाईहरुको समर्थन गर्न आएको होइन म ।
आरजु राणा : समर्थन खोजेको होइन । यो त संशोधन गर्नैपर्छ ।
प्रेम सुवाल : बिरोध गर्नासाथ किन रोक्नुभयो ?
आरजु राणा : मलाई लाग्दैन कि तपाईले गरेको बिरोध हो । मलाइ यो बिरोध होइन जस्तो लाग्छ । यो ठिक छ । संशोधन हाल्नैपर्छ ।
प्रेम सुवाल : आज युवाजति ८० लाख विदेश पठाउनु भयो । आज देश ध्वस्त पार्नुभयो । तपाईहरुले किन रोक्नुभयो ।
अन्य सांसदहरु : नरिसाउनु न माननीयज्यु
आरजु राणा : छोटो मात्रै गर्नुस् भनेको हो । कुरा राख्नुहोस् भनेको हो ।
प्रेम सुवाल : अरु कसैलाई भन्नुपर्दैन । मलाई किन भन्नुपर्छ सभापतिज्यु ? त्यस्तो पक्षपात गर्न पाइँदैन ।
आरजु राणा : ठिक छ ठिक छ प्लिज । तपाई लामै राख्नुस् । लामै राख्नुस् । दिनभरी हामी यहीँ बस्न आएको हो ।
प्रेम सुवाल : यस्तो नचाहिने नचाहिने कुरा । औद्योगिक क्षेत्रहरुमा उत्पादन भएको सबै अधिकांश सामानमा खाद्य स्वच्छता कायम छैन । तपाई उद्योगको मन्त्री(उद्योगमन्त्रीलाई इंकित गर्दै) के यो बोल्न पाउँदैन ?
उद्योगमन्त्री : पाइन्छ, पाइन्छ किन नपाउनु ?
प्रेम सुवाल : तपाईको मातहतको काम राम्रोसँग गर्नुप¥यो । जनतालाई धोका दिन पाइँदैन मन्त्रीज्यु ।
प्रेम सुवाल : (पाना पल्टाउँदै आफ्नो संशोधन राख्न शुरु) ६ महिना यता ४ अर्ब रुपैयाँको तरकारी आयात भयो । त्यो पनि विषादी भएको । चेकजाँच गर्नुपदैन ? विषादी भएको तरकारी खुवाउन मिल्छ ? यही हो खाद्य स्वच्छता ? मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहान्छु सभापति महोदयमार्फत धन्यवाद ।