काठमाडाैं । नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको छ । बिहीबार (आज) देखि काठमाडौंको भृकुटीमण्डपमा नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको हो ।
मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्सले संयुक्त रुपमा आयोजना गरिएको प्रदर्शनीको अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गर्नुभयो ।
मेलाको उद्घाटनपश्चात सञ्चारकर्मीहरुसँग कुरागर्दै अर्थमन्त्री महतले विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले विभिन्न खालका उत्पादनहरु उपभोक्ताहरुको बीचमा पुग्ने बताउनुभयो । विभिन्न उपभोग्य वस्तुहरु एकै ठाउँमा हेर्न र खरिद गर्न सजिलो हुने बताउँदै मन्त्री महतले उपभोगमा वृद्धि हुँदा मात्रै लगानी वृद्धि हुने भएकाले मेलाले उपभोग बढाउन मद्दत गर्ने दाबी गर्नुभयो।
उहाँले मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादित वस्तुहरु राखिएकाले नेपाली उत्पादन पनि गुणस्तरीय भएको उपभोक्ताले अनुभव गर्न पाउने अवसर भएको उल्लेख गर्नुभयो । उहाँले नेपालको बजार साना नभएको भन्दै ३ करोड जनसख्या ठूलो भएको बताउनुभयो । आयात भइरहेका वस्तुहरु नेपालमा नै उत्पादन गर्नको लागि प्रेरित गर्ने बताउँदै अर्थमन्त्री महतले लगानी, उपभोग र छनोटका दृष्टिकोणले हेर्दा यस्ता मेलाहरु हुन आवश्यक रहेको जिकिर गर्नुभयाे। उहाँले मेलामा विदेशी कम्पनीहरुको सहभागिताले नेपालको बजारका विषयमा जानकार हुँदा लगानी गर्न प्रेरित हुने वातावरण बनाउने बताउनुभयो । उहाँले सरकारले यस्ता खालका प्रदर्शनीहरुलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।
नेपालमा प्रदर्शनीको लागि उपयुक्त स्थल नभएको भन्ने गुनासो रहेकाले उपयुक्त प्रदर्शनी स्थल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भइरहेको अर्थमन्त्री महतको भनाइ छ ।
प्रदर्शनीमा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहनेछन् । मेलामा निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराइने आयोजकले जनाएको छ । मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने र मेलामा ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवानलगायत मध्यपूर्वबाट दुबईका कम्पनीहरुले सहभागिता जनाएका छन् ।