काठमाडाैं । नेपाल पुलिस क्लव शनिबार तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको च्याम्पियन भएको छ । तीन दिने प्रतियोगितामा कुल पुलिस १० स्वर्ण, तीन रजत र तीन काँस्य पदकसहित च्याम्पियन भएको हो ।
साातदोबाटोस्थित कराते हलमा शनिवार सम्पन्न प्रतियोगितामा एपिएफ दोस्रो भयो । एपिएफले एपिएफले तीन स्वर्ण, पाँच रजत र पाँच काँस्य पदक प्राप्त गर्यो । प्रतियोगिताको च्याम्पियन पुलिसले ट्रफीसहित एक लाख र दोस्रो स्थानको एपिएफले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्यो । वागमती प्रदेश भने तेस्रो भयो ।
वागमतीले दुई स्वर्ण, एक रजत र ६ कांस्य पदक आफ्नो बनाउँदै तेस्रो स्थान प्राप्त गरेको हो । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा कुल १७ इभेन्ट्सको पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका कमल ओली र महिलामा एपिएफ रमिता माझी उत्कृष्ट खेलाडी चयन भए । कमलले पुरुष ७५ केजीमुनि र रमिताले ६१ केजीमुनि स्वर्ण पदक जितेका थिए । सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफीसहित समान २५ हजार रुपैयाँ पाए ।
पुरुषतर्फ वागमतीका शाहील नेपाली र महिलामा पुलिसकी निरूपा दोङ तामाङ उदीयमान खेलाडी चयन भए । करातेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका रूपमा रहेको प्रतियोगितामा सात वटै प्रदेशका र तीन विभागीय टोलीका गरी दुई सय ४० खेलाडीले प्रतिष्पर्धा गरेका थिए । शनिवार कुमुतेतर्फ पुरुष ८४ केजीमाथि नेपाल पुलिस क्लवका विप्लभलाल श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा सुदूरपश्चिम प्रदेशका लोकेश कार्कीलाई हराए । एपिएफ तेन्जिङ शेर्पा र मधेसका विवश गौतमले काँस्य पदक प्राप्त गरे।
कुमुतेकै महिला ५० केजी तौलसमूहमा आर्मीकी मिस्ली श्रेष्ठले स्वर्ण जितिन् । उनले फाइनलमा एपिएफकी सोनु श्रेष्ठलाई हराइन्। पुलिसकी सबिना श्रेष्ठ र मधेसकी बबिता इस्लामीले कांस्य पदक पाए । कुमुतेमा पुरुष ७५ केजी तौलसमूहमा सुदूरपश्चिमका कमल ओलीले स्वर्ण जिते । उनले फाइनलमा वागमतीका साहिल नेपालीलाई हराए । मधेसका करणकुमार महतो र कोसीका रुरिहाङ दुमीले काँस्य पदकमा चित्त बुझाए ।
कुमुतेमा महिला ६८ केजीमाथि पुलिसकी एरिका गुरुङले स्वर्ण जितिन् । उनी १९ औँ एशियाली खेलकुदको रजत पदक विजेता पनि हुन् । एरिकाले फाइनलमा एपिएफकी विनिता श्रेष्ठलाई हराइन् । यस तौलमा मधेसका पोरिना शाही ठकुरी र वागमतीका कलाहाङ लिम्बूले काँस्य पदक जिते ।