काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा साेमबार बिहान बसेको बैठकमा उहाँले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसदमा दरिलो रूपमा प्रस्तुत हुन निर्देशन दिनुभएको हो ।
“तपाईँहरू राम्रो तयारीका साथ संसद्मा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोसिस गरिएको छ । सरकारले राम्रा काम गरेका छन् । यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नुहोस् ।”
आगामी आर्थिक वर्षमा परिणाम निस्किने गरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने बताउनुभयो । उहाँले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सङ्घीय लोकतन्त्र आफूहरूको सक्रियतामा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो व्यवस्था हामीले ल्याएको हो । यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो । त्यसैले व्यवस्था विरोधी मतका विरुद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ ।”
नीति तथा कार्यक्रम र बजेट निर्माणमा नयाँ पहल लिइएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयाे, 'सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुने गरी नीति तथा कार्यक्रम र बजेट बनाउने गरी अगाडि बढिन्छ, तपाईँहरूले पनि महत्त्वपूर्ण सुझाव दिनुस् ।”