काठमाडाैं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकले संघीयता कार्यान्वयनसँगका विषयमा भएका निर्णयको कार्यान्वयन प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकले पहिलो बैठकका निर्णयहरुको कार्यान्वयनमा प्रभावकारीता नदेखाएको निस्कर्ष निकालेको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताउनुभयो ।
उहाँले आजको बैठकमा पहिलो बैठकले गरेका निर्णयको कार्यान्वयनको समीक्षा गर्ने र संघीयता कार्यान्वनयसँग जोडिएको विषयमा छलफल भएको बताउनुभयो । उहाँले पहिलो बैठकले गरेका अधिकांश निर्णयहरु कार्यान्वयन नभएको र कार्यान्वयनका निम्ति आवश्यक तत्परता लिएको नदेखिएको बताउनुभयो ।
उहाँले कार्यविस्तृतिकरण लगायका विषयहरु प्रस्तुत गरेको भएपनि आवश्यक तयारी नभएकाले फागुन मसान्तसम्ममा सबै कार्यसूचीमा व्यवस्थित तयारी गर्ने र चैत्रको मसान्तसम्म संघीयता कार्यान्वयनसँगका विषयमा निर्णय गरी कार्यान्वयन प्रभावकारी बनाउने निर्णय भएको बताउनुभयो ।
बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यविस्तृतिकरण सम्बन्धी मस्यौदा संघले ढिलो गरेर दिएपछि आफूहरुले अध्ययन गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले तयारी नपुग्दा छलफल अर्को बैठकमा गर्नेगरी बैठक सकिएको बताउनुभयो ।
बैठकपछि बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बैठकमा संघीयता कार्यान्वयन र ऐन, कानून निर्माणको सन्दर्भमा वृहंगम छलफल भएको बताउनुभयो । उहाँले अब छिटै तेस्रो बैठक बस्ने र कार्य विस्तृतिकरणका काम टुंग्याउने सहमति भएको बताएनुभयो ।
बैठकमा उपस्थित मुख्यमन्त्रीहरुले असारमा बसेको पहिलो बैठकमा गरिएका निर्णयहरु कार्यान्वयनमा कमजोरी भएको बताएका छन् । पहिलो बैठकले बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा कार्यविस्तृतिकरण परिमार्जन गरी तीनै तहका सरकारबीचको अधिकारमा ६ महिनाभित्र स्पष्टता ल्याउने निर्णय गरेको थियो ।
दोहोरो–तेहरो अनुदान बन्द गर्ने, दोहोरो संरचना खारेज गर्ने, आयोजनामा पनि दोहोरोपना हटाउने, कानून निर्माणमा प्रदेश र स्थानीय तहको सहभागिता, प्रमुख प्रशासकीय अधिकृतको २ वर्ष सरुवा नगर्ने लगायतका निर्णय गरेको थियो । राष्ट्रिय समन्वय परिषद्को बैठकले एकीकृत अभिलेख प्रणालीको विकास गर्ने र जग्गा प्राप्तिलाई सहज बनाइने लगायतका निर्णय गरेको भएकपनि कार्यान्वयन हुन नसकेको बैठकमा सहभागीहरुको धारणा छ ।