काठमाडाैं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा भएको सुधारलाई देखाएर अर्थतन्त्रमा सुधार आयो भन्न नसकिने बताउनुभएको छ ।
मंगलबार नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको मुलुकको वर्तमान आर्थिक परिसूचकमा विदेशी मुद्रा सञ्चिति र विप्रेशण (रेमिट्यान्स) मा वृद्धि भएको तथ्याङ्कलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने बताउनुभएको हो ।
पूर्वअर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र र वाह्य क्षेत्र मध्ये अहिले राम्रो भएको वाह्य क्षेत्र मात्रै भएको दाबी गर्नुभयो । उहाँले वाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक रुपमा अर्थतन्त्रमा सुधार नआएको भन्दै सरकारले अर्थतन्त्र लयमा आयो भनेर भन्नु धर्म निर्वाह गर्नु मात्रै भएको टिप्पणी गर्नुभयो ।
खतिवडाले सरकारको आन्तरिक खर्च, वित्तीय प्रणालीमा हुने खर्च र उत्पादन वृद्धि नहुँदा वाह्य क्षेत्रबाट हुने मागमा कमी हुँदा विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको बताउनुभयो । उहाँले उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र गरी तीनवटा क्षेत्रमा आएको मन्दी र समस्याको परिणाम स्वरुप चौथो वाह्य क्षेत्रमा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको दाबी गर्नुभयो । पूर्वअर्थमन्त्री खतिवडाले दुई वर्षको बीचमा निर्यात ४० प्रतिशतले घटेको भन्दै चालु आर्थिक वर्ष सकिँदा अढाई वर्ष अगाडिको भन्दा निर्यात आधा हुने अवस्था देखिएको बताउनुभयो ।
उहाँले वैदेशिक रोजगारीमा हरेक वर्ष ८ लाख नेपाली युवाहरु जाने र पछिल्लो दुई वर्षमा १५ लाख युवाहरु विदेश गएकोले उनीहरुले पठाएको रेमिट्यान्सको कारण विदेशी मुद्राको सञ्चिति बढेको बताउनुभयो । उहाँले पर्यटकको आगमन वृद्धि भयो भन्दैमा पनि सरकारले सन्तुष्टि लिन नमिल्ने पनि बताउनुभयो । उहाँले पर्यटकहरुले खर्च गर्ने र लगानीको भएको लाभलाई हिसाव नगरी आम्दानीको कुरा गर्नुको अर्थ नहुने तर्क गर्नुभयो । डा.खतिवडाले निर्माण क्षेत्र नकारात्मक रुपमा प्रभावित भएको र आयात कम भएपछि ढुवानी तथा यातायात व्यवसाय अवरुद्ध रहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धि हुन नसक्ने बताउनुभयो ।
उहाँले अघिल्लो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भएको भए अहिले ४ प्रतिशतको वृद्धि ठिक मान्न सकिने उल्लेख गर्नुभयो । डा. खतिवडाले सरकारको राजश्व चालु आर्थिक वर्षमा ३ देखि ४ खर्बले कम हुने संकेत रहेकोले पनि देश गहिरो आर्थिक मन्दिमा जाने बताउनुभयो । उहाँले १४ खर्ब २२ अर्ब राजश्व संकलन गर्ने सरकारको लक्ष्य भएपनि ११ खर्ब पनि राजश्व उठाउन मुस्किल रहेको बताउनुभयो ।
उहाँले वित्तीय प्रणालीमा खराब कर्जा बढ्दै जाँदा बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा रहेको दाबी गर्नुभयो । उहाँले राष्ट्र बैंकले पुनःतालिकिकरण गर्न दिएको म्याद थपि नरहने हो भने असार मसान्तसम्ममा धेरै बैंकहरुको वित्तीय अवस्था कमजोर बन्ने निश्चित रहेको बताउनुभयो । उहाँले यस्तो अवस्थामा पनि मुलुक आर्थिक संकटकै अवस्थामा नपुगे पनि चरम आर्थिक मन्दीमा पुग्ने दाबी गर्नुभयो ।