काठमाडाैं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्नेमा जोड दिएका छन् ।
पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै माओवादी केन्द्रका नेताहरुले संविधानमा नै समाजवादउन्मुख राज्यव्यवस्थाको उल्लेख गरिएको भन्दै पार्टीको विधानमा पनि समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने धारणा राखेका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको विधान समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित हुनेगरी बनाउनुपर्नेमा नेताहरुले जोड दिएका बताउनु भयो । त्यस्तै, केन्द्रिय समिति १५१ सदस्यीय बनाउनेगरी छलफल भएको पनि उहाँले जानकारी दिनुभयो ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले विधान अधिवेशन, विधान र केन्द्रीय कमिटी बैठकको व्यवस्थापनको सम्बन्धमा ब्रिफिङ गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । त्यस्तै, शान्ति प्रक्रियालाई टुंग्याउनका लागि दलहरुका बीचमा घनिभुत रुपमा छलफल भइरहेको पनि अध्यक्ष दाहालले बताएको उहाँको भनाइ छ ।
शुक्रवारको बैठकमा विधान मस्यौदा कार्यदलको संयोजक उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र वर्षमान पुनले आफ्नो भनाइ राख्नुभएको उहाँले जानकारी दिनुभयो । त्यस्तै सचिवहरु गणेश साह र राम कार्की तथा स्थायी कमिटी सदस्य शशी श्रेष्ठले पनि बैठकमा धारणा राख्नुभएको उहाँले बताउनुभयो ।