–नारायण भण्डारी
हिमालय पर्वतको काखमा अवस्थित काठमाडौ उपत्यकाको दक्षिण पूर्वमा पर्ने ललितपुर जिल्लाको ओकुबहालमा महाबुद्ध मन्दिर रहेको छ । यो मन्दिर पाटन दरबार क्षेत्रदेखि ५ सय मिटर पूर्वमा पर्ने सुनधाराबाट दक्षिणमा रुद्रवर्ण महाविहार जाने मार्गमा अवस्थित छ .।
ललितपुर नामैले यो नगरी ललितकलाले लावन्यवान बनेको छ । यहाँ विश्व विमोहित गर्ने ललितकलाले मण्डित मन्दिर,विहार, महाविहार र दरबारहरु छन् । यहाँका कलाकारहरुले नगरका स्थापत्यहरुलाई माटोमा कला भरी सजाएका छन् । ढुंगाले शोभायमान गराएका छन् । काठमा काव्य कोरेका छन् । धातुमा सौन्दर्यको धर्म भरेका छन् । गजुरले आकाशको अलंकार ओरालेका छन् । यो संयोजनमा संसार सारपूर्ण भएको धन्य भएको छ । देशै धनी भएको छ । हामी यसैमा जगत प्रसिद्ध छौँ ।
जगतका सामु देखाउन सकिने हाम्रा पुर्खाले दिएका निर्माणमा ललितपुरको महाबुद्ध मन्दिर एक हो । यो मन्दिर शिला, मृतिका र धातुबाट निर्माण गरिएको छ । यीमध्ये माटोमा कला भरेर पकाई स्थायी बनाउने मृतिकाकलाईंटा बनाउने विधिमा कला भर्ने सीप वा अँग्रेजी भाषामा टेराकोटाबाट बनेको यो मन्दिर नेपालकै लागि नमुना हो, र बौद्ध मूर्ति, कला सजावटलाई वज्रले जोडेर सजाइएको महान संरचना हो । मृतिकामाकला भरेका उदाहरण देशमा अन्त पनि छन् । पशुपतिनाथमा अनन्त नारायणको मूर्ति छ । दोलखा भीमेश्वरमा पनि केही कलाकृति छन् तर माटोलाई प्रयोग गरी यति भव्य मन्दिर बनाइएको देशमा अन्त देखिएको छैन् । शिखरशैलीमा बनाइएको यो मन्दिरमा नौ हजारभन्दा बढी बुद्ध प्रतिमा राखिएको छ । मन्दिरको बाहिरी तह पूरै बुद्ध प्रतिमाले भरिएको छ । यसैले पनि मन्दिरको नाम महाबुद्ध भएको हो भन्ने जन कथन छ । तिब्बतीहरु यसलाई शाङ्गे तुङगु भनेर सम्बोधन गर्छन् यसको अर्थ पनि नौ हजार बढी बुद्धका मूर्ति भएको मन्दिर हुने बताइन्छ ।
पाँच सय वर्षअघि पाटनको ओकुबहालका पण्डित अभयराज शाक्यलाई देवी विद्याधरी वा आकाश योगिनीले सपनामा दिएको आज्ञा बमोजिम उहाँले सन् १५६४ मा आफ्नै निवास क्षेत्रको प्राङ्गणमा यो मन्दिरको निर्माण प्रारम्भ, शिलान्यास गर्नुभएको थियो । निर्माण सम्पन्न नहुँदै उहाँको निधन भएको हुँदा उहाँका छोरा र नाती जीवराज र जयमुनिलगायतले आफ्नै पारिवारिक खर्चमा निर्माणलाई निरन्तरता दिई ३६ वर्षमा निर्माण सम्पन्न गरेकाथिए ।
मन्दिरमा तीनका लविगत, वर्तमान र आगत अर्थ्याउने गरी निर्माण संयोजन गरिएको छ । कतिले यसलाई हिनायान, महायान तथा वज्रयान मतको मान्यता र महत्व झल्काउने गरी निर्माण गरिएको बताउँछन् । बौद्ध दर्शन ज्ञान र व्यवहारलाई बचाइ राख्न यस निर्माणले सहयोग गरेको पाइन्छ । मन्दिरको भुइँतलामा चारैतिर शिलाका चार द्वार छन् । दक्षिणमा मण्डलाकारमा बुद्धको पाइला राखिएको छ । मुख्यद्वार पूर्वाभिमुख छ यहाँ शाक्यमुनि बुद्धको मूर्ति देखिन्छ । आसपासमा समन्तभद्र र वज्रपाणी बोधिसत्वका मूर्ति पनि देखिन्छन् । उत्तरमा दीपंकर तथागतको प्रतिमा छ । दक्षिणमा मैत्रिय बुद्ध, तथा अन्य दिशामा विभिन्न बुद्धका प्रतिमाहरु छन् । पहिलो तलाको पूर्वमा प्रमुखताका साथ अमिताभ बुद्धको मूर्ति राखिएको छ । वरिपरि अरु बुद्धका मूर्तिहरु छन् । यस तलाका चारै कोणमा बोधगयाको मन्दिरमा जस्तै गरी साना मन्दिर बनाइएको छ । तेस्रो तलामा बनाइएको पञ्चजिनालय स्वयंभू महाचैत्यको आकृति बडो आकर्षक मानिन्छ । चौथो तलामा धर्मधातु राखिएको छ । पाँचौँ तलामा वज्रधातु सजाइएको छ । र छैटौं तलामा शून्यको संकेत गर्न शून्यनिरञ्जन स्वर्ण महाचैत्यको गजुर बनाइएको छ ।
यो मन्दिरको निर्माण कार्य सम्पन्न भई पूजाआजा गरी यहाँबाट सिक्किमका राजालाई प्रसाद पठाइएको थियो । सिक्किमका राजाले प्रसाद ग्रहण गरेपछि देवतालाई सुनका सय वटा असर्फी दान गर्नुभएको थियो । त्यसको उपयोग गरी रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई शोभायमान बनाउन विभिन्न किसिमका गहना आभूषण किनिएको थियो । तत्पश्चात सिक्किम हुँदै यस मन्दिरको प्रसिद्धि चीनसम्म विस्तारित भएको पाइन्छ ।
यो मन्दिर बनेको धेरै वर्ष भएपछि घामपानी र प्राकृतिक कारणले कमजोर भइसकेको थियो । वि सं १९९० मा आएको भूकम्पले मन्दिरको पहिलो तलादेखि माथिको भाग पूरै भत्काएको थियो । मन्दिरको निर्माण गर्न शाक्य परिवार जुटे । आर्थिक अभावले गर्दा उनीहरुले भएको जग्गा जमिन बन्दकी राखेर पैसा निकाली काम अघि बढाए । स्थानीय कालीगढको नेतृत्वमा काम सञ्चालन गरियो र सम्पनन भयो । पुनर्निर्माणका क्रममा बाँकी रहेका भग्नावशेषको संकलन गरी मूल मन्दिरदेखि दक्षिण पश्चिममा मायादेवीको मन्दिर बनाइयो । मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि उद्घाटनका लागि गरिएको रातभरको पूजा र जाग्राममा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरलाई आमन्त्रण गरियो । प्रधानमन्त्री पनि रातभरको पूजामा सरिक हुनुभयो । त्यस क्रममा मन्दिर पुनर्निर्माण गर्दा जग्गा बन्दकी राख्नु परेको पीडा शाक्य परिवारले प्रधानमन्त्री समक्ष सुनाए । अनि प्रधानमन्त्रीले जग्गा राखी काढिएको ऋण तत्कालै मिनाहा गरिदिनु भयो । स्थानीय रुद्रवर्ण महाविहारमा आयोजित पूजापाठमा उहाँले ऋण मिनाहाको घोषणा गर्नुभएको थियो । प्रधानमन्त्रीले गरेको यो घोषणाको खुशियालीमा महाबुद्ध मन्दिरदेखि दक्षिणमा पर्ने रुद्रवर्ण महाविहारमा श्री ३ जुद्धशमशेरको शालिक राखिएको हो ।
बौद्धकलाकृति, बुद्ध पुरुषको प्रतिमा रातो माटामा बनेका आकृति, संकेत, शिलाका ढोका र माथि स्वर्ण गजुर हेर्दै जाँदा नजर पनि जगतबाट विस्तारै जागृतितर्फ उचलिन्छ । मन्दिरको उचाइसँगै चैतन्यचुली पनि चुलिँदै जान्छ । मानिस मन्दिरमा गएर भवसागर छाडी शून्यमा समाहित भई निर्वाणतिर निस्कन्छ । यो नै निर्माणको सार्थकता हो । महाबुद्ध मन्दिर व्यक्तिलाई बुद्धत्वतर्फ आकर्षित गरी ज्ञान दिन सक्षम देखिन्छ । यही शक्ति सामर्थ्य गर्दा यहाँ देशदेशावरका दर्शनार्थी आकर्षित भइरहेका छन् ।