काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रियाको विषयलाई लिएर सांसदहरुले असन्तुष्टि जनाएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रिया गलत भएको बताएका हुन् ।
उनीहरुले छनौट प्रक्रिया गलत भएको भन्दै तिब्र असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरुले उपकुलपति छनौटको प्रक्रियालाई खारेज गर्दै नयाँ प्रक्रिया आरम्भ गर्न माग समेत गरेका छन् । बैठकमा बोल्दै नेकपा(एमाले) कि सांसद विद्या भट्टराईले विभिन्न आरोपका आरोपितहरुले आवेदन दिएको भन्दै उनीहरुको योग्यतामाथि प्रश्न उठाउनुपर्ने बताउनुभयो । उहाँले आरोपितहरुको आवेदन स्वीकार गर्दा छनौट प्रक्रियामाथि प्रश्न उठेको बताउनुभयो ।
त्यस्तै, नेकपा(एमाले)की सांसद सरिता भुसालले उपकुलपति छनौटका लागि सक्षम व्यक्तिको खोजतलास नगरिएको बताउनुभयो। उहाँले विदेश पलायन भइरहेका विद्यार्थीहरुलाई रोक्ने विचार भएका व्यक्ति उपकुलपति बन्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सिफारिस समितिले गलत बाटो समातेको बताउनुभयो । उहाँले सिफारिस समिति उपकुलपतिको छनौटका लागि लोकसेवाको प्रक्रियाजस्तै गरी अगाडी बढिसकेको भन्दै कसैले पनि उस्तो, उस्तो गर्नुस् भनेर निर्देशन दिन नमिल्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकि सांसद विना जैसवालले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप गर्नु नहुने धारणा राख्नुभयो । उहाँले अनुभव र ज्ञान भएको मान्छेलाई राज्यको उच्च पदमा राख्नुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) की सांसद ईश्वरी घर्तीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा हालका निमित्त उपकुलपतिलाई नै नियुक्त गर्नेगरी प्रपञ्च गरिएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले नै यस विषयमा नाटक गरेको टिप्पणी गर्नुभयो ।
उहाँले हालका निमित्त उपकुलपतिले आफ्नो क्षेत्राधिकार मिचेर विभिन्न पदमा नियुक्ति गरेको भन्दै ति सबै नियुक्तिलाई खारेज गर्नुपर्ने बताउनुभयो ।