काठमाडाैं । देशका युवा रोजगारीको खोजीमा कोही दक्षिणी नाकाबाट, केही उत्तरी भञ्ज्याङबाट तथा अरु हवाइ मार्गबाट परदेश पसेका छन् । दिनानुदिन ताँती लागेर विदेश जानेको पीडाले स्वदेशमाबस्ने बाँकीलाई चिन्तितबनाएको छ ।
स्वामी नजाऊ छाडी विदेश... भन्दै घरघरमा गीत सुनाउने रेडियो थाकेर थोत्रियो तर व्यथा झन् बढेको बढ्यै छ । कक्षा १२ पास गरेका वयस्क विदेश जाने भन्दै परदेशीको भाषा सिक्न गोजी खाली गर्दैछन् । सन्तानलाई नेपाली भाषामा पढाए पो नेपालमा बस्ने ? पढाइको भाषा नै उताको छ, यहाँ काम गर्ने कसरी ? निजी विद्यालायले शिक्षालाई परदेशी भाषातिर मर्काएपछि सामुदायिक विद्यालय पनि तिनकै पछि लागेका छन् । जहाँको भाषा पढेको हो जनता जागिर खान उतै जाँदैछ ।
फेरि राज्यले बनाएको आरक्षणको आँखाले योग्य र अब्बललाई देख्दैन अनि अवसरको खोजीमा परदेश पुग्छ जनशक्ति । सत्ताधारी राज्यरथिहरु विदेश गएकालाई दुई वर्षमै स्वदेश फर्कूँ फर्कूँ लाग्ने बनाउँछौँ भन्छन् तर यिनलाई भन्दैमा फुर्सद छैन । गराउने कहिले ? मानौँ उनीहरुको काम नै भन्ने हो । पद पायो भाषण सुनायो । भन्नलाई प्रवक्ता तोकिएको छ तर प्रवक्ताले नभन्दै उपल्लाले अर्को भनि सक्छ, प्रवक्तामाथि महाप्रवक्ता बोल्न आतुर छन् ।
यतिले पनि पुगेन भनेर सञ्चारकर्मीले तिनकै भनाइलाई समाचार बनाई बताउनुभयो, भन्नुभयो, चर्चा गर्नुभयो भन्दै दुनिया फिराएका छन् । प्रष्ट पार्नु पर्यो नि हजुर भन्दै तिनैलाई नै अन्तर्वार्तामा बोलाएका छन् ।
छ न त देशमा बोल्दै नबोली केही नभनी निरन्तर कर्म गर्ने नागरिक पनि छन् । तर तिनले उचित दाम पाउँदैनन् । पारिश्रमिक नपाएर सास्ती खाएका छन् । विदेश पस्नुभन्दा त यहाँ बस्नु पो बाध्यता रहेछ भनेर उनीहरु पनि ऋण काढेर पोका बोकेर परदेश पुग्छन् ।
परदेशबाट तिनले कसला गरी ल्याएको पठाएको विप्रेषणले यहाँको सरकार चलेको छ, भाषण गर्नेको भरण पोषण गरेको छ । झण्डा बोक्नेको झोला भरेको छ । भक्त पेन्सनको प्रसाद बाँडेको छ । नेताले जनताको नाम त जपिरहने तर ज्यान फालेर दूरदेशमा दुःख गर्ने जनताको जय हुने कहिले ? मातृभूमिको माटोले रोईरोई यो प्रश्न गरेको छ ।