काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक डुब्ने अवस्थामा नरहेको दाबी गर्नुभएको छ । नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले राष्ट्र बैंकले नियमन र अनुगमन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै हालतमा पनि डुब्न नदिने प्रतिवद्धता जनाउनुभयो। उहाँले राष्ट्र बैंकको नियमनमा चल्ने बैंक तथा वित्तीय संस्थाको वचत सुरक्षित गर्ने मेकानिजम राष्ट्र बैंकसँग भएकाले नेपाली बैंक डुब्ने अवस्था नभएको उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले नेपालको बैंकिङ प्रणाली धेरै हदसम्म बलियो रहेको उल्लेख गर्नुभयो। राष्ट्र बैंकले ल्याउने नीतिहरु बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी रुपमा काम गरिरहेको बैंक तथा वित्तीय संस्थालाई त्यत्तिकै डुब्न नदिने बताउनुभयो ।
उहाँले अहिलेको अवस्थामा नेपालका बैंक वित्तीय संस्थाहरु डुब्ने अवस्थामा नभएको भन्दै साना–साना संस्था सो अवस्थामा आएपनि तिनको नियमन गरी सुधार गर्ने राष्ट्र बैंकसँग मेकानिजम रहेको दाबी गर्नुभयो ।
गभर्नर अधिकारीले अर्थतन्त्र संकुचनमा रहेको कारण बजारमा मागमा कमी आएको बताउनु भयो । ठूला ऋणीले ऋण माग्न सक्ने अवस्था नरहेको भन्दै मुलुकको निर्माण क्षेत्र समेत सुस्तता रहेको गभर्नर अधिकारीको भनाई छ । उहाँले निर्माण क्षेत्रलाई चलायमान बनाउनसके आर्थिक गतिविधि समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
गभर्नर अधिकारीले राजनीतिक पार्टीका नेतृत्व देखि बैंक बुझ्ने धेरैले बैंक अराजक,सामन्ती र मिटरब्याजी भए भनेर गाली गरिरहेको बताउनुभयो । उहाँले नेपालका कुनैपनि बैंकहरु अराजक,सामन्ती र मिटरब्याजी भएको नपाएको दाबी गर्नुभयो । उहाँले अहिले बैंकको आम्दानी घटेको बताउनुभयो । उहाँले आफू गभर्नर भएर राष्ट्र बैंक आउँदा ७० अर्ब रहेको नाफा अहिले त्या्े अवस्थामा पुुग्नसक्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । ३२ खर्ब बैंकको पुँजी बढेर ५० खर्ब पुग्दा पनि ७० अर्ब नाफा पुग्न नसक्ने अवस्थामा ‘कसरी बैंक साहु महाजन भए ? भन्दै प्रश्न गर्नुभयो । उहाँले बैंकहरुलाई गाली गर्नेहरुले बैंकहरुको तथ्याङ्क नहेरेको बताउनुभयो ।
उहाँले बैंक तथा वित्तीय संस्था डुब्दा मुलुकमा कस्तो असर पर्छ भन्ने विषयमा सबैले ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था फेल नहुन् भनेर मर्जरको लहर चलाएको दाबी गर्नुभयो । राष्ट्र बैंकले लिने नीतिहरु तत्काल भन्दा पनि भविष्यमा आउने समस्या समाधानको लागि सहयोगी बन्ने गरेको धारणा व्यक्त गर्नुभयो ।