कास्की । पोखरामा आजदेखि ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सुरु भएको छ । पोखरा नयाँबजारमा रहेको पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा प्रदर्शनी शुरु भएको हो । सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा सुरु भएको यो प्रदर्शनी फागुन २३ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले उद्घाटन गर्नुभयो । ‘सामाजिक रुपान्तरण : ललितकलाको अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका ७४ वटा कला प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अवलोकनकर्ताले प्रदर्शनीभर हरेक दिन बिहान ११ देखि साँझ ६ बजेसम्म त्यहाँ राखिएको कलाको अवलोकन गर्न पाउनेछन् । समापनका दिनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग पोखरामा कलाको महत्वबारे संवाद कार्यक्रम गरिने सदस्यसचिव श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लामाले प्रतिष्ठानको काम व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको बताउनुभयो । “हामी आएपछि परम्परागत शैलीमा सञ्चालन हुँदै आएका कामकारबाहीलाई थप व्यवस्थित बनाउन लागेका छौँ”, उपकुलपति लामाले भन्नुभयो, “‘जाति जनजातिको कला आज हामी देख्न पाउँदैनाैँ, केही अपवादबाहेक घरभित्र थन्किएको छ । समुदायमा थन्किएको छ । सुषुप्त हुन थालेको छ । त्यसलाई पुनःजागरण गर्ने भनेका छौँ ।”
प्रदेश हुँदै स्थानीय तहसम्म पुग्ने आफूहरूको तयारी रहेको उहाँले सुनाउनभयो । उपकुलपति लामाले भन्नुभयो, “स्थानीय कला प्रदेश हुँदै केन्द्र र अन्तर्राष्ट्रियस्तरमा पुर्याउने तथा अन्तर्राष्ट्रियबाट केन्द्र हुँदै प्रदेश अनि स्थानीय तहमा ल्याउनेछौँ ।”
प्रादेशिक प्रदर्शनीमा सामेल ललितकलालाई पुरस्कारसमेत प्रदान गरिने गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव श्रेष्ठले जानकारी दिनुभयो । प्रदर्शनीमा उत्कृष्ट हुने एक जनालाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । चित्रकलातर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तिकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला विधामा पनि पुरस्कारको व्यवस्था गरिएको सदस्यसचिव श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदर्शनीमार्फत छानिएका चित्रलाई २०८१ जेठ १५ गते काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराइनेछ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई रु एक लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई रु ६० हजार नगद पुरस्कार छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिस्पर्धा हुनेछ ।