काठमाडाैं । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीको क्विक रेस्पोन्स टिममा रहेका प्रहरीहरुले प्रयोग गर्ने उपकरण सार्वजनिक गरेको छ । बुधवार जिल्ला प्रहरी परिसर काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरी क्युआरटी एक्सेसरिज प्रयोगमा ल्याउने भएको हो ।
क्युआरटी मोटरसाइकललाई प्रदान गरिएका सामानहरुमा जिपिएस ट्रयाकिङ डिभाइस, बडी वर्न भिडियो क्यामेरा, हेल्मेट, नि गार्ड, एल्बो गार्ड, ग्लोभ्स, चेस्ट भेस्ट, सन ग्लासेस, रेडियो सेट, लाइट विथ साइरन छन् । कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले क्विक रेस्पोन्स टिम उपकरण टोली शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र घटित अपराधमा पनि तत्काल हेरेर रेस्पोन्स र डिजिटल एभिडेन्सहरुलाई पनि रिकभर गर्नका महत्वपूर्ण सावित हुने बताउनु भयो । उहाँले यसबाट प्रहरीमाथि लाग्ने गरेका आरोपहरु पनि नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो । क्युआरटीले प्रयोग गर्ने मोटरसाइकलमा जिपिएस ट्रयाकिङ जडित हुनेछ ।
कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शान्ति सुरक्षा कायम गर्न अपराध, अनुसन्धान र नियन्त्रण गर्ने सन्दर्भमा हाम्रा जनशक्ति दक्ष, सक्षम हुनुपर्ने बताउनुभयो । उहाँले प्रहरीका जनशक्तिहरु साधन श्रोतयुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले साधन र श्रोतको उपलब्धिपछि मात्रै चाहेअनुसारको शान्ति व्यवस्था कायम हुनसक्ने बतउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर बस्नेतले अहिले पनि प्रहरी समयमा नआइपुग्ने गुनासोहरु कायम नै रहेको भन्दै यसलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्रहरीले आफ्नो कार्य क्षेत्र बाहिरिका कामहरु गर्ने की नगर्ने भन्नेकुरा पनि अहिले छलफलको रुपमा बाहिर आइरहेको बताउनुभयो ।
उहाँले घरेलु झगडाका उजुरी प्रहरीमा धेरै आइरहेको बताउनुभयो ।