काठमाडाैं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले हङकङमा हुने त्रिदेशीय टी–२० आई शृंखलामा युवा टोलीका लागि अवसर हुने बताउनुभएको छ ।
आगामी मार्च ९ देखि पपुवा न्युगिनी र नेपाल सम्मिलित टी–२० आई त्रिदेशीय श्रृंखला हङकङमा शुरु हुँदैछ । उक्त श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाई नियमित खेलाडीलाई आराम दिँदै नयाँ खेलाडी अवसर दिएका छन् । सोही श्रृंखलाका लागि बिहीवार भएको बिदाई कार्यक्रममा कप्तान रोहितले युवा खेलाडीका लागि यो अवसर हुने विश्वास व्यक्त गरेका छन्। यो श्रृंखलामा आसिफ शेख, कुशल मल्ल, अनिल साह, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी जस्ता अनुभवी र नियमित सदस्यलाई आराम दिइएको छ ।
त्यसैले कप्तान रोहितले यो श्रृंखला नयाँ खेलाडीका लागि अवसर हुने बताएका हुन् । ट्वान्टी–२० विश्वकप अगाडि हङकङ श्रृंखला निकै उपयोगी हुने कप्तान रोहितको विश्वास छ । यसअघि घरेलु मैदानमा सम्पन्न टी–२० श्रृंखला त्यति राम्रो नभए पनि थोरै अन्तरका हार भएकाले आगामी शृंखलामा पुनरागमन गर्ने कप्तान रोहितको विश्वास छ ।
नेपाली टोलीका प्रशिक्षक देसाईले नेदरल्याण्ड्स र नामिबियासँगको त्रिदेशीय श्रृंखलामा भएका हारबाट हतास नहुनु पर्ने उल्लेख गरे । हङकङ श्रृंखलामा रोहितको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ सेख, आरिफ सेख, विवेक यादव, रासिद खान, करण केसी, सागर ढकाल, प्रतीश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् ।